सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले ‘आमालाई खाना शिशुलाई नाना’ कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत ८ वटै वडामा यो कार्यक्रम सुरु गरिएको हो ।

Advertisement

कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिका वडा नं.–१ का सबिता मगर, वडा नं. २ का बालकुमारी लिम्बू, संगिता लिम्बू, अनिता लिम्बू, वडा नं. ३ का शुभमाया तामाङ र उषा याखाको घरमा गएर सुत्केरी भएका उनीहरुलाई खाना र नवजात शिशुलाई नाना वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचालसहित सम्बन्धित वडाका वडाध्यक्षले सुत्केरी आमालाई चामल, तेल, मसला, सेनिटेरी प्याड र नवजात शिशुलाई न्यानो कपडा हस्तारण गरेका छन् ।

सुत्केरी आमालाई खाना शिशुलाई नाना वितरण गर्न जाने क्रममा स्वास्थ्यकर्मीहरु पनि सहभागी हुने गर्छन् । स्वास्थ्यकर्मीले सुत्केरी महिला र उनको परिवारलाई प्रत्यक्ष भेटेर सुत्केरी महिलाले आफु र बच्चाको स्वास्थ्यको विषयमा ध्यान दिनु पर्ने विषयमा सहजीकरण गर्ने गरेका छन् । स्वास्थ्य सम्बन्धी सामान्य जानकारी नभएका कारण गाउँ–गाउँमा धेरै आमा बच्चाहरुले ज्यान गुमाउँने गरेका छन् । कतिपय कुपोषणको सिकार बनेका छन् । मातृशिशु मृत्यूदरलाई घटाउनुको साथै सुत्केरी महिलाहरुलाई स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

गरिब तथा विपन्न परिवारमा स्वास्थ्य जनचेतनाको अभावले अहिले पनि सुत्केरी महिला र नवजात शिशुहरु जोखिममा छन् । उनीहरुले उपयुक्त समयमा खान लाउन पाउँदैनन् । त्यसैले कम्तीमा पनि गाउँपालिकाले गरेको थोरै सहयोगबाट उनीहरुलाई केही राहत र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले अभियान शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष रुचालले बताईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!