धनकुटा । धनकुटाको त्रिशुले–राम बजार सडक कालोपत्रे गरिने भएको छ । छथर जोरपाटी गाउँपालिकाको त्रिशुलेदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार हुँदै रामबजार जोड्ने ३३ किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्रे गरिने भएको हो ।
संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको स्थानीय पूर्वाधार बिभाग ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आर.सी.आई.पी.) अन्र्तगत सडक स्तरोन्नती गर्न लागिएको हो । सडक चौडा गरी कालोपत्रे गर्न अहिले प्रारम्भिक अध्ययन भईरहेको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘सडक चौडा गरेर कालोपत्रे गर्न प्रारम्भिक अध्ययन भईरहेको छ ।’ मेयर नेपालले भने–‘सबै प्रकृया पुरा गरेर कालोपत्रेको काम थाल्न एक बर्ष भन्दा बढी समय लाग्नसक्छ ।’
अहिले सो सडक ग्राभेल छ । त्रिशुलेदेखि आन्द्रुङ जिरोपईन्टसम्मको सडक ५ मिटर चौडा छ भने त्यहाँदेखि राम बजारसम्मको सडक ६ मिटर चौडा बनाईएको छ । अब, पुरै सडक खण्ड ७ मिटर चौडा बनाएर कालोपत्रे गरिने मेयर नेपालले बताए । उनका अनुसार सडक चौडा गर्दा प्रभावित हुनेहरुसँग अहिले छलफल र सहमति जुटाउँने काम भईरहेको छ । शुक्रबार पनि सोही बिषयमा महालक्ष्मी नगरपालिकाको मन्ज्यांङमा छलफल कार्यक्रम गरिएको छ ।
यता, छथर जोरपाटी गाउँपालिकाले पनि यो बिषयमा प्रभावितहरुसँग छलफल गरिसकेको छ । प्रारम्भिक छलफलमा सडकको सीमा रेखाङ्कन गर्ने र सडक सिमानामा रहेका निजी तथा सार्वजनिक घर टहरा हटाउने सहमति जुटेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । प्रारम्भिक प्रतिवेदनपछि सडक कालोपत्रेका लागि बिभागबाट पूर्ण सर्भेक्षणसहित अन्य प्रकृया सुरु हुनेछ ।
सो सडक खण्ड अन्र्तगत छथर जोरपाटी गाउँपालिका क्षेत्रमा १३ किलोमिटर र महालक्ष्मी नगरपालिका क्षेत्रमा २० किलोमिटर सडक पर्छ । सो सडक यसअघि नै ग्राभेल भईसकेको भएपनि बर्खामा पानी पर्दा सडक हिलाम्मे भएर सवारी साधन आवतजावतमा समस्या हुँने गरेको छ । अहिले सडक कालोपत्रेका लागि अध्ययन थालिएपछि सो क्षेत्रबासी उत्साहित बनेका छन् । सो सडक कालोपत्रे हुँदा छथर जोरपाटी गाउँपालिकाको हात्तिखर्क, महालक्ष्मी नगरपालिकाको अर्खौले जीतपुर, लेगुवा लगायत क्षेत्रका ५ हजार भन्दा बढी घरधुरी लाभान्वित हुँनेछन् ।