- रबिन कटेल/संगालोखबर

धनकुटा । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आईतबार बिहानसम्म धनकुटाका कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार धनकुटाका १ सय १ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको छ । यता, स्वास्थ्य कार्यालय धनकुटाको रेकर्डमा भने जिल्लाका संक्रमितको संख्या ७५ मात्र छ । धनकुटाका बाँकी ५६ संक्रमित को हुन्, कहाँ र कुन अवस्थामा छन् भन्नेमा स्वास्थ्य कार्यालय नै बेखबर छ । न त जिल्लाको कोरोना संकट व्यवस्थापन गर्न निर्माण गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति नै यो बिषयमा जानकार छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमली पनि यो बिषयमा अनबिज्ञ छन् ।

Advertisement

जिल्लाबाट स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट पोजिटिभ आएकालाई मात्र स्वास्थ्य कार्यालयले संक्रमितमा गणना गरिरहेको छ । जिल्लाबाहिर परीक्षण गराएर संक्रमण पुष्टि भई धनकुटा फर्किएकाहरु प्रशस्त छन् । तर, जिल्लाभित्रै रहेका ती संक्रमितहरुलाई निगरानीमा राखेर थप संक्रमण फैलन नदिनका लागि भूमिका खेल्नुपर्ने जिल्लाका सरोकारवाला निकाय त्यसप्रति लापरवाह बनेका छन् । जसका कारण कोरोना संक्रमण भयावह अवस्थामा पुग्नसक्ने जोखिम बढेको छ । जिल्लाको रेकर्डमा नरहेकाले ती कोरोना संक्रमितहरु खुलेआम बजारमा निस्किए पनि प्रशासन पत्तो पाउँने अवस्थामा छैन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाई जिल्लाबाट स्वाब संकलन गरेर पठाईकाबाहेक जिल्लाभित्र रहेका अन्य संक्रमितको रेकर्ड नरहेको स्वीकार गर्छन् । ‘हामीले स्वाब संकलन गरेर पठाएकाहरुको मात्र रेकर्ड राखेका छौ ।’ संगालोखबरसँग गुरागाईले भने–‘हाम्रो रेकर्डमा नभएका पनि संक्रमित जिल्लामा छन् भन्ने थाहा हुँदैछ । तर, जिल्लाभित्र कति संक्रमित छन् भन्ने यकिन रेकर्ड हामीसँग छैन ।’

स्वास्थ्य मन्त्रालयको रेकर्डमा धनकुटाका संक्रमितको तथ्यांक ।

धनकुटामा पहिलो पटक जेठ ४ गते स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यसयता कन्ट्राक्ट ट्रेसिङका आधारमा जिल्लाबाटै स्वाब संकलन गरी धरान र बिराटनगरका ल्याबमा पीसीआर परीक्षण गरिदै आएको थियो । जिल्लाबाहिर रहेका धनकुटेलीमा पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भईरहेको छ । अहिले शंका लाग्नेले आफै पनि शुल्क तिरेर धरान, बिराटनगरका ल्याबमा पुगेर पीसीआर परीक्षण गराउँदै आएका छन् । प्रदेश १ का ९ वटा ल्याबले पीसीआर परीक्षण गर्छन् । ती सबै ल्याबले पीसीआर परीक्षणको सम्पूर्ण रिपोर्ट प्रदेश १ को सामाजिक बिकास मन्त्रालयलाई पठाउँने गर्छन् । सोही आधारमा सामाजिक बिकास मन्त्रालयले संक्रमितको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउँछ । सात वटै प्रदेशमा यही नियम लागु छ । देशभरका सम्पूर्ण ल्याबमा परीक्षण भएका संक्रमितको रेकर्ड स्वास्थ्य मन्त्रालयमा पुग्छ र स्थायी ठेगानाका आधारमा संक्रमित गणना हुन्छन् । देशभर पुष्टि भएका संक्रमितको विवरण स्वास्थ्य मन्त्रालयमा हुन्छ भने प्रदेश १ मा पुष्टि भएका संक्रमितको विवरण सामाजिक बिकास मन्त्रालयले राख्दै आएको छ ।

स्वास्थ्य कार्यालयले पनि चासो देखाउँदा संक्रमितको सम्पूर्ण विवरण हेरेर आफ्नो जिल्लाका संक्रमितलाई निगरानीमा राख्नसक्छ । तर, त्यसप्रति स्वास्थ्य कार्यालयले बेवास्ता गर्दा जिल्लामा संक्रमण नियन्त्रणबाहिर जाने संभावना बढ्दै गएको भन्दै स्थानीयबासी चिन्तित बन्न थालेका छन् । ‘संक्रमित थपिएको समाचार आईरहन्छ । स्वास्थ्य कार्यालयलाई कसमा संक्रमण देखिएको पत्तै नभएपछि संक्रमितले स्वास्थ्य सावधानी अपनाएको छ कि छैन भन्ने कुराको कसले निगरानी गर्ने ?’ प्रश्न गर्दै धनकुटा बजारका सन्देश राई भन्छन्–‘अरु रेकर्ड नभएपनि धनकुटा भित्र कति संक्रमित छन् र कस्तो अवस्थामा बसेका छन् भन्ने रेकर्ड त स्वास्थ्य कार्यालयले राख्नुपर्यो नि !’

सामाजिक बिकास मन्त्रालयको तथ्यांक अनुसार पनि प्रदेशका ल्याबहरुमा परीक्षण गर्दा धनकुटाका १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशका ल्याबमा परीक्षण गराएका धनकुटाका २२ महिला र ८३ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धनकुटाका ६१ संक्रमित निको भईसकेका छन् । बाँकी १३ महिला र ३० पुरुष गरी ४३ संक्रमित निको हुँन बाँकी छन् । तर, ती संक्रमित कहाँ छन् भन्ने रेकर्ड जिल्लामा छैन । स्रोतका अनुसार सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको रेकर्डमा भएका तर, जिल्ला स्वास्थ्य कार्यालयको रेकर्डमा नरहेका कतिपय संक्रमितहरु धनकुटा बजारभित्रै छन् । उनीहरुले आफु संक्रमित भएको सरकारी निकायमा जानकारी गराएका छैनन् । ती संक्रमितको खोजीमा जिल्लाका सरोकारवाला निकायले पनि चासो नदेखाउँदा जोखिम बढेको हो ।

यता, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिमली पनि कोरोना संक्रमितको रेकर्ड संकलन र जोखिम व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्छन् । संगालोखबरसँगको कुराकानीमा प्रजिअ बिमलीले अब चाँडै सम्पूर्ण संक्रमितको रेकर्ड व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोना संक्रमित मृतकको रेकर्डमा पनि मनोमानी

धनकुटा नगरपालिका–३ निगालेकी ६५ बर्षीया कोरोना संक्रमित बृद्धाको असोज २५ गते धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भयो । धरानमै उपचारका क्रममा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, धनकु्टा नगरपालिका–५ का ६३ बर्षीय कोरोना संक्रमित पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण देखियो । बिराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई अस्पतालबाट डिस्चार्ज गरी घर फर्काइएको चार दिनपछि गत सोमबार उनको मृत्यु भयो । जिल्ला बाहिरै स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएका यी दुबैलाई स्वास्थ्य कार्यालय धनकुटाले संक्रमित मृतकमा गणना गर्यो ।

तर, यस्तै प्रकृतिमा संक्रमण पुष्टि भएर मृत्यु भएकी धनकुटा–५ की ४३ बर्षीया कोरोना संक्रमित महिलालाई भने स्वास्थ्य कार्यालयले मृतकमा गणना गरेको छैन । धनकुटा अस्पतालबाट रेफर गरेर पठाईएकी उनको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । नोबेलमै पीसीआर परीक्षण गर्दा उनमा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

नोबेल अस्पतालमा परीक्षण गर्दा पीसीआर पोजिटिभ आएको रिपोर्ट ।

कोरोना संक्रमितको मृत्यु भएर नेपाली सेनाले अन्त्येष्टि गरेको तीन दिनपछि शनिवार पनि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुरागाई धनकुटाका मृतक दुई जनाको मात्र रेकर्ड सार्वजनिक गरिरहेका छन् । यसले पनि मृतकको गणना र रेकर्डमा मनोमानी हुने गरेको पुष्टि गरेको छ ।

धनकुटामा कोरोना संक्रमितको शव राखेर श्रद्धाञ्जली कार्यक्रमको तयारी, यसरी टर्यो दुर्घटना

धनकुटा नगरपालिका–५ का ६३ बर्षीय कोरोना संक्रमित पुरुषको गत सोमबार घरमै मृत्यु भयो । स्वासप्रश्वासमा समस्या देखिएपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएका उनमा पीसीआर परीक्षण गर्दा कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन धनकुटासहित प्रदेश १ का जिल्लाहरुमा संक्रमित थपिएको खबर सामाजिक बिकास मन्त्रालयको स्रोत उदृत गर्दै बिभिन्न सञ्चारमाध्यमले प्रकाशन/प्रशारण गरे । धनकुटाका ६३ बर्षीय ती संक्रमित पनि सोही समाचारमा समेटिएका थिए ।

तर, जिल्लाबाट पठाईएको स्वाबबाहेक अन्य धनकुटेलीमा संक्रमण पुष्टि भएको खबरलाई वेवास्ता गर्दै आएको स्वास्थ्य कार्यालय धनकुटाले यो खबरलाई पनि वास्ता गरेन । संक्रमित ती व्यक्तिको स्वास्थ्य अवस्था नाजुक बन्दै गएर चिकित्सकहरुले उपचार सम्भव नहुँने बताएपछि ‘होम आईशोलेशन’ मा राख्न भन्दै कात्तिक ७ गते राती नै उनलाई धनकुटास्थित घर ल्याईयो । संक्रमितलाई घर ल्याईएको धनकुटाका कुनै सरकारी निकायले पत्तो पाएनन् । संक्रमितका परिवारका सदस्यले पनि उनी संक्रमित भएको कुरा अरु कसैलाई जानकारी दिएनन् । जिल्लाको राजनीतिमा परिचित ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको कुरा परिवारले गोप्य राख्यो । घर फर्काइएको चार दिनपछि उनको मृत्यु भयो । संक्रमण पुष्टि भएको कुरा गोप्य राखिएकाले उनी सिकिस्त हुँदादेखि मृत्यु हुँदासम्म पनि उनलाई भेट्न/हेर्न जानेको कमी भएन ।

यो बिषयमा प्रशासनदेखि पार्टीका नेतासम्म पनि बेखबर हुँदा अन्ततः उनको पार्थिव शरिरलाई श्रद्धाञ्जली अर्पणका लागि भोलीपल्ट (मंगलबार) बिहान नेकपाको जिल्ला पार्टी कार्यालय सिरवानीमा राख्ने तयारी गरियो । ‘शवलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राख्न धेरै नेता कार्यकर्तालाई खबर भईसकेको थियो ।’ नेकपाका एक नेताले संगालोखबरसँग भने–‘धन्न अन्तिममा कोरोना लागेको कुरा थाहा भएपछि कार्यक्रम रोकियो र ठूलो दुर्घटना टर्यो ।’

बिराटनगरमै हुँदा उनमा संक्रमण पुष्टि भएको संगालोखबरलाई थाहा थियो । र, समुदायमा कोरोना फैलने जोखिमलाई वेवास्ता गर्दै कोरोना संक्रमित मृतकको शरिरलाई श्रद्धाञ्जलीका लागि राख्न लागिएको बिषयमा संगालोखबरकर्मीले स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईलाई जिज्ञासा राख्दा उनी झस्किए । दिउँसो करिब १२ बजे मृत्यु भएका ती संक्रमितको बिषयमा करिब ३ बजे स्वास्थ्य कार्यालयका प्रमुखसँँग कुरा भएको थियो । त्यसअघि नै मृतकलाई सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिन भ्याईसकेका गुरागाईले उनमा संक्रमण पुष्टि भएको कुरा पत्तो पाएका थिएनन् । प्रशासनलाई पनि यो बिषयमा जानकारी थिएन ।

मृतक कोरोना संक्रमित भएको अन्तिममा सूचना पाएपछि स्वास्थ्य कार्यालयका प्रमुखले यो बिषयमा सोधखोज थाले । ल्याबमा बुझ्दा संक्रमण पुष्टि भएको प्रमाणित भएपछि उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिमलीलाई खबर गरे । रातारात समितिको बैठक आकस्मिक बस्यो र राती करिब ९ बजे प्रशासनले सूचना जारी गर्दै मृतक कोरोना संक्रमित भएकाले सम्पर्कमा पुगेकालाई आईसोलेशनमा बस्न आग्रहसहित नमान्नेलाई कारबाही गर्ने चेतावनीसमेत दियो । अन्ततः श्रद्धाञ्जली कार्यक्रम तोकिएको दिन मंगलबार कोरोना संक्रमित मृतकको शव नेपाली सेनाले जिम्मा लिएर अन्त्येष्टि गरेको छ ।

तर, कोरोना संक्रमण पुष्टि भएको प्रशासनले पत्तो नपाउँदा र परिवारले पनि खबर नगर्दा धेरै व्यक्ति यसबीचमा संक्रमितको सम्पर्कका पुगेका छन् । स्वास्थ्य कार्यालय र प्रशासनले धनकुटाका कोरोना संक्रमितको विवरण राखेको भए उनीहरुलाई अरु कसैको सूचना आवश्यक पर्ने थिएन । धेरै व्यक्ति संक्रमितको सम्पर्कमा पुग्नबाट जोगिने थिए र संक्रमण फैलनसक्ने जोखिम कम हुँने थियो । तर, त्यस्तो हुन नसक्दा जिल्लामा कोरोना संक्रमण फैलनसक्ने जोखिम बढिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!