
धनकुटा । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणी पराजुलीको मोरङको बुढिगंगास्थित बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ । संक्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामस्थित घरमा ‘होम आईसोलेशन’ बसेका सांसद पराजुलीको स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि बिराट मेडिकल कलेज लगिएको हो ।
स्वास्थ्यमा समस्या बढेपछि गत सोमबार अस्पताल पुर्याईएका सांसद पराजुलीको अहिले बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ । चार दिनको अस्पताल बसाईपछि अहिले सांसद पराजुलीको स्वास्थ्यमा सुधार देखिएको उनकी श्रीमती सीताले बताईन् । ‘घरमा हुँदा उहाँलाई गाह्रो भएपछि टीकाको दिन नै अस्पताल लगेका हौं । अहिले स्वास्थ्यमा केही सुधार भएको छ ।’ संगालोखबरसँग उनले भनिन्–‘सास फेर्न गाह्रो हुने, खोकी लाग्ने समस्या धेरै थियो । अहिले सुधार हुँदै गएको छ ।’
यता, सांसद पराजुलीले पनि आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताए । ‘छातिमा समस्या भएको थियो । अस्पतालमा परीक्षण गर्दा निमोनिया सुरु हुन थालेको रहेछ । कडा औषधि चढाएपछि अहिले निकै सुधार भएको छ ।’ उनले भने ।
उपचारका क्रममा सांसद पराजुलीको पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संक्रमितसँगै भएकाले उनकी श्रीमती सीताको पनि स्वाब संकलन गरिएको छ । तर, दुबै जनाको रिपोर्ट आउँन बाँकी छ ।
नेकपाका नेतासमेत रहेका सांसद पराजुलीसहित उनका सवारी चालकमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । पराजुली धनकुटा क्षेत्र नं.२ का निर्वाचित प्रदेश सांसद हुन् ।
यो पनि : प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण, चालक पनि संक्रमित















