
सुनसरी । बाथरुममा लडेर धरान उपमहानगरपालिका–१० का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धर्मपथका कोरोना संक्रमित ४८ बर्षीय पुरुषको आफ्नै घरको बाथरुममा लडेर बुधबार दिउँसो करिब साँढे १२ बजे मृत्यु भएको हो ।
करिब १३ दिन अघिदेखि ज्वरोसहितका लक्षण देखिएका उनको पीसीआर परीक्षण गर्दा बुधबार बिहान रिपोर्ट पोजिटिभ आएको थियो ।
घरमै ‘होम आईसोलेशन’ बसेका उनको बाथरुममा लडेर मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले संगालोखबरलाई बताए । ‘धेरै दिनदेखिको ज्वरो र खाना नरुच्नाले उहाँ कमजोर हुनु भएको रहेछ । बाथरुमबाट फर्किने क्रममा लडेर बेहोस् हुनुभयो ।’ मेहताले भने–‘उपचारका लागि अस्पताल लैजान खोज्दा–खोज्दै मृत्यु भयो ।’
दिउँसो करिब १२ बजे बाथरुममा लडेर गंभीर घाईते भएका उनलाई स्वास्थ्यकर्मी घरमै बोलाएर अस्पताल लैजाने तयारी गरिएको थियो । तर, लडेको करिब आधा घण्टा भित्र उनको मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाले अन्त्येष्टि गरेको छ ।
हालसम्म धरानका ४५ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । धरानमा २ हजार ६ सय २७ जनामा संक्रमण देखिएको छ । जसमध्ये करिब १ हजार ४ सय संक्रमित निको भईसकेका छन् । बाँकी अधिकांस संक्रमित घर–घरमै छन् ।
करिब एक दर्जन संक्रमितको अस्पतालमा उपचार भईरहेको भएपनि १२ सय भन्दा बढी संक्रमित घरमै ‘होम आईसोलेशन’ मा रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख मेहताले जानकारी दिए ।















