- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । धनकुटाको सहिदभूमी गाउँपालिका–२ छिन्ताङकी मृगौलापीडित अम्मल राईलाई दक्षिण कोरियामा रहेका धनकुटेलीले आर्थिक सहयोग गरेका छन् । धनकुटा घर भई दक्षिण कोरियामा बस्दै आएका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाज दक्षिण कोरियाले १ लाख ६१ हजार ५ सय रुपैयाँ सहयोग संकलन गरी बिरामी राईलाई प्रदान गरेको हो ।

Advertisement

धनकुटा सेवा समाजका अध्यक्ष प्रदेश राई र गोबिन्द राईको अगुवाईमा दक्षिण कोरियामा संकलन गरिएको उक्त रकम समाजका पूर्व अध्यक्ष चन्द्र राईले बिरामीलाई हस्तान्तरण गरेका छन् । उपचारका क्रममा ललितपुरमा रहेकी राईलाई त्यही पुगेर रकम प्रदान गरिएको हो । यसैबीच सहयोग रकम हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष राईले थप २ हजार र रोशन राईले ५ हजार ५ सय रकम प्रदान गरेका छन् ।

दुबै मृगौला फेल भएकी २३ बर्षीया राई अहिले उपचारका क्रममा ललितपुरमा छन् । १० बर्षअघिदेखि मृगौलासम्बन्धि समस्यासँग जुध्दै आएकी राईलाई ललितपुरको सुमेरु अस्पतालमा नियमित डायलाईसिस गराईदै आएको छ । मृगौलापीडित अम्मलकी दिदी सृजनाले उनलाई एउटा मृगौला दिने भएकी छन् । तर, मृगौला प्रत्यारोपणमा आर्थिक अभाव भएकाले सहयोग संकलन गरी प्रदान गरिएको हो ।

यसैबीच मृगौला प्रत्यारोपणका लागि राईलाई दशैं लगत्तै भक्तपुर अस्पताल भर्ना गरिने भएको छ । मनकारीहरुको साथ र सहयोगबाट जुटेको रकमको सहारामा छोरीको मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको उनका वुवा बिदेशले संगालोखबरलाई जानकारी दिए । ‘छोरीको ज्यान बचाउँन धेरैले सहयोग गर्नु भएको छ । जुटेको सहयोग रकममा थपथाप खोजेर मृगौला फेर्ने तयारी गरेका छौ ।’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!