- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल कार्तिक ७ गते शुक्रबार ई. सं. २०२० अक्टुवर २३, नेपाल सम्बत ११४० कौलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, धृति योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः०९ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३३ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नसक्छ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन । घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!