- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रका बर्षा प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको केन्द्र जितपुरमा कार्यक्रम आयोजना गरी नगरक्षेत्रका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

केही साता अघिको अबिरल बर्षाका कारण घर पूर्ण क्षति भएकाहरुलाई राहत सामाग्री वितरण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । बर्षाका कारण घर भत्किएका तथा बाढी पहिरोबाट घरमा क्षति पुगेकाहरुलाई प्रति परिवार ५० किलो चामल, ५ किलो दाल, ३ किलो चिनी, २ किलो नुन र ४ लिटर तेल प्रदान गरिएको हो ।

महालक्ष्मी नगरपालिकाको पहल र पर्डेप नेपालको व्यवस्थापनमा बर्षा प्रभावितहरुका लागि यूएनडीपीले राहत सामाग्री उपलब्ध गराएको थियो । महालक्ष्मी नगरपालिकाका मेयर नेपाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र नेपाल, महालक्ष्मी–७ का वडाध्यक्ष रुद्र तुम्वा, पर्डेप नेपालका कार्यकारी निर्देशक मिन सुवेदी लगायतले राहत सामाग्री वितरण गरेका हुन् ।

महालक्ष्मी नगरपालिका वडा नं. १ का ८ परिवार, वडा नं.७ का ७ परिवार, वडा नं.५ का ६ परिवार, वडा नं.६ का ५ परिवार, वडा नं.२, ४ र ९ का ३/३ तथा वडा नं.८ का १ परिवारले राहत पाएको नगरपालिकाको बिपद् व्यवस्थापन शाखाका प्रमुख मनोज तामाङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!