- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१ हात्तिखर्कस्थित भारती माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएको कारण देखाउँदै गाउँपालिकाले २६ सरकारीसहित ३५ विद्यालयलाई दशैंको मौकामा बिदा बढाईदिएको हो ।

Advertisement

शनिवार संक्रमण पुष्टि भएका ती शिक्षकले असोज २२ गतेसम्म विद्यालयमा उपस्थित भएर पढाएको विद्यालयका प्रधानाध्यापक रुद्र बिकले संगालोखबरलाई बताए । ‘असोज २२ गते विद्यार्थीहरुलाई होमवर्क दिएर उहाँ घर (इटहरी) झर्नु भएको थियो ।’ प्रधानाध्यापक बिकले भने–‘२७ गते घरबाट फर्किएपछि उहाँलाई ज्वरो आएछ । त्यसपछि स्कूल आउँनु भएको छैन ।’

ज्वरो आएपछि उनी पुनः इटहरी गएर पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । उनी अहिले ईटहरीमै छन् । तर, उनलाई संक्रमण देखिएको कारण देखाउँदै गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई दशैंको मौकामा बिदा बढाईएको हो । आईतबार बसेको बिपद् व्यवस्थापन समितिको बैठकले कात्तिक ३ देखि १५ गतेसम्म गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालयमा सिकाई सहजीकरण बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।

गाउँपालिकाको यो निर्णयसँगै अब सो क्षेत्रका २६ सरकारी विद्यालयका शिक्षक कर्मचारीले दशैंको मौकामा अतिरिक्त विदा पाएका छन् । ९ निजी विद्यालय पनि बन्द हुँने भएका छन् । यसअघि गाउँपालिका क्षेत्र भित्रका विद्यालयहरुमा फूलपातीदेखि त्रयोदशीसम्म ७ दिन दशैं विदा दिने निर्णय भएको थियो । तर, एक शिक्षकमा कोरोना देखिएको भन्दै गाउँपालिकाले दशैंको मौकामा सबै विद्यालयलाई थप ६ दिन बिदा बढाईदिएको हो । कात्तिक १५ गतेसम्म सिकाई सहजीकरण बन्द गर्न भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालयलाई पत्रसमेत लेखिसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!