संगालोखबर सम्वाददाता

धनकुटा । नेकपाका केन्द्रिय सदस्य एवं धनकुटा ईन्चार्ज हेमराज भण्डारीसहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेता भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बु, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।

Advertisement

चौबिसेको कुरुलेतेनुपा घर भएका नेता भण्डारी संबिधानसभा सदस्यसमेत हुन् । भण्डारीसहित, लिम्बु, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरेर गाउँपालिकालाई प्रदान गरेका हुन् ।

गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले सास्ती बेहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पुर्याउँन सहज होस् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरिएको नेता भण्डारीले बताए । ‘एम्बुलेन्स नहुँदा अहिले पनि गाउँका बिरामीहरुलाई झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।’ नेता भण्डारीले संगालोखबरसँग भने–‘यसरी सास्ती बेहोरिरहेका बिरामीहरुलाई हाम्रो सानो सहयोगले केही राहत पुग्ला भन्ने लागेर एम्बुलेन्स दिएका हौं ।’

गाउँपालिकामा कार्यक्रम आयोजना गरी दाताहरुले गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् । अब, गाउँपालिकाले नै उक्त एम्बुलेन्स सञ्चालन गर्नेछ । कार्यबिधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराईने गाउँपालिका अध्यक्ष राईले बताए । यसैबीच एम्बुलेन्स प्रदान गर्ने दाताहरुलाई शुक्रबार सम्मान गरिएको छ । गाउँपालिकामा कार्यक्रम गरी अबिर, दोसल्ला, माला लगाई सम्मानपत्र दिएर दाताहरुलाई सम्मान गरिएको हो ।

दाता भण्डारी, लिम्बु, राई र बराईलीले अब अर्को बर्ष दोलखामा पनि एम्बुलेन्स प्रदान गर्ने योजना बनाएका छन् । चार जना मिलेर एकले अर्कोको ठाउँमा एम्बुलेन्स प्रदान गर्न सहयोग गर्ने उनीहरुको योजना छ । यसो गर्दा चार जनाकै ठाउँमा एम्बुलेन्स पुर्याउँन सकिने नेता भण्डारी बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!