- संगालोखबर सम्वाददाता


काठमाडौं । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र खोकी बढेपछि थापा दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेशनमा भर्ना भएका हुन् ।

गृह जिल्ला धनकुटामा करिब एक महिना बसेर काठमाडौं फर्किए लगत्तै थापामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको स्टार अस्पतालमा परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थापा काठमाडौंको मालिगाउँस्थित घरमै ‘होम आईसोलेशन’ बसेका थिए ।

तर, ज्वरो, रुघा र खोकी बढेपछि थापा अस्पताल भर्ना भएको उनका स्वकीय सचिव मदन घिमिरेले संगालोखबरलाई जानकारी दिए । ‘कोरोना संक्रमण पुष्टि भएपनि सुरुमा उहाँलाई कोरोनाको लक्षण देखिएको थिएन । होम आईसोलेशनमै हुनुहुन्थ्यो ।’ घिमिरेले भने–‘तर, अहिले ज्वरो, रुघा र खोकी बढेपछि उहाँ अस्पताल भर्ना हुँनुभएको हो । खोकीले अलिक सताएपनि उहाँको स्वास्थ्य अवस्था भने सामान्य नै छ ।’

काँग्रेस नेतासमेत रहेका थापाको ह्याम्स अस्पतालका डा.रक्षा पाण्डेको निगरानीमा उपचार भईरहेको छ । राप्रपाको तर्फबाट गत संबिधानसभा निर्वाचनमा धनकुटाबाट बिजयी भएका थापा केही महिना पहिले राप्रपा परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । धनकुटाको मुगा घर भएका थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!