
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारलाई सोलार सिष्टमसहित विभिन्न सामाग्री वितरण गरेको छ ।
चौबिसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा बिपन्न परिवारहरुलाई सामाग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार र विजुली बत्तीका लागि विद्युत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । त्यस्तै गुणस्तरीय शिक्षा सुधार तथा नियमित अनुगमनका लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।
रमाइलो कक्षा सञ्चालनका लागि सो वडामा रहेका केजी र बाल कक्षाहरुमा १२ थान एलइडी टिभी जडान गरिएको छ भने कक्षा–६ देखि १२ सम्म अध्यायनरत छात्राहरुका लागि दुई हजार ८ सय स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । सो अभियान गाउँपालिकाका ८ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।















