धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सहिदभूमि गाउँपालिका–७ पाखाका ४५ वर्षीय उपकान्छा भनिने रामकिसान राई छन् ।
बुधवार साँझ दिदीको घरबाट आफ्नो घर फर्कदै गर्दा सहिदभूमि गाउँपालिका–६ स्थित हाङखा भीरबाट लडेर उनको मृत्यु भएको सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले संगालोखबरलाई जानकारी दिए ।
बिहिबार बिहान घाँस काट्न जंगल गएका स्थानीयवासीले मोवाईलको रिङटोन जंगलमा बजेको सुनेपछि हेर्ने क्रममा राईको शव फेला परेको हो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बाटोबाट करिब ३ सय मीटर तल उनको शव फेला परेको हो ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल गएको थियो । मुचुल्का उठाएर पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल पठाईएको गाउँपालिका अध्यक्ष राईले बताए ।