बिराटनगर । बिराटनगरमा गएराती कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । बिराटनगरस्थित कोभिड–१९ अस्पतालमा उपचारका क्रममा झापाको दमक–७ की ६७ बर्षीया नुशादेवी लुइँटेलको मृत्यु भएको हो ।
मृतकका भतिज एवं बिराटनगरका पत्रकार कुमार लुइँटेलका अनुसार उनलाई गत शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि बिराटनगरस्थित कोभिड–१९ अस्पताल भर्ना भएकी उनको संक्रमणको एक हप्तापछि गएराती करिब २ बजे मृत्यु भएको हो । उनलाई अन्य दीर्घरोग नभएपनि यसअघि निमोनिया भने भएको थियो ।
योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । जसमध्ये ६२ जना मृतक प्रदेश १ का हुन् भने प्रदेश १ कै अस्पतालमा मृत्यु भएका १५ जना भने प्रदेश १ बाहिरका हुन् ।
सामाजिक बिकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा हालसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ४ सय ३८ जना निको भएका छन् ।