विराटनगर । प्रदेश १ का मन्त्रीहरुले शुक्रबार मुख्यमन्त्री शेरधन राईसँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले काम गर्ने सम्झौता गरेका हुन् ।
बाँकी मन्त्रीहरुले सोमबार सम्झौता गर्ने कार्यक्रम छ । मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताउँदै सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन पनि दिएका छन् ।
कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता जनाए । अब मन्त्रीहरुसँग राज्यमन्त्री र सचिवले पनि कार्य सम्पादन सम्झौता गर्नेछन् ।
प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात गरिएको हो । प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मसाथ गर्दै सम्झौता गरिएको प्रदेश सरकारले जनाएको छ ।