विराटनगर । प्रदेश १ मा आज १ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१ र तेह्रथुममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
यता, सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १/१ पुरुष तथा स्थानीय तह नखुलेका २ पुरुष संक्रमित भएका छन् । त्यस्तैगरी, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १/१ पुरुषमा संक्रमण देखिएको छ ।
तेह्रथुमको छथरमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । जसमध्ये ३ हजार ४ सय ३८ जना निको भईसकेका छन् ।
यसैबीच, प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनमा रहेका १५५ जना निको भएका छन् । विराट मेडिकल कलेजबाट ८ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।