विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहिबार थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको हो । तर, सक्रिय संक्रमितको संख्या भने ३ हजार ४ सय ४५ मात्र छ ।
प्रदेशमा हालसम्म १ लाख १८ हजार ८ सय १० जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये १ हजार ८ सय ११ महिला र ४ हजार २ सय ५३ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ५ हजार ९ सय ४८ जना प्रदेश भित्रकै हुन् भने १ सय १६ संक्रमित प्रदेश १ बाहिर ठेगाना भएका छन् ।
प्रदेशका १४ जिल्लाका कुल संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित मोरङ जिल्लाका छन् । मोरङमा मात्रै ३ हजार १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । मोरङपछि बढी संक्रमित भएका जिल्लामा क्रमशः सुनसरी, झापा र उदयपुर छन् । सुनसरीका १ हजार ६ सय ५५, झापाका ८ सय १ र उदयपुरका १ सय २० जनामा संक्रमण देखिएको छ । बाँकी १० जिल्लामा संक्रमितको संख्या १ सयभन्दा कम छ । सोलुखुम्बु र ताप्लेजुङमा संक्रमितको संख्या न्यून छ । दुबै जिल्लामा नौ/नौ जना संक्रमित छन्।
यता, प्रदेश १ का ४३ प्रतिशत कोरोना संक्रमित निको भईसकेको सामाजिक बिकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले संगाालोखबरलाई जानकारी दिए । उनीहरु बिना औषधि आफै निको भएका हुन् । बुधबारसम्म २ हजार ६ सय १९ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । ६ सय ६ महिला र २ हजार १३ पुरुष कोरोनामुक्त भएपछि अब सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४५ छ । पूर्वका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा संक्रमितहरुलाई राखिएको छ । कतिपय संक्रमित घरमै छन् । घरमै ‘होम आईसोलेशन’ बसेका दर्जनौ संक्रमित पनि औषधि नखाई निको भएका छन् ।
प्रदेश १ मा हालसम्म ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुँनेमा १७ महिला र ४२ पुरुष छन् । प्रदेश १ भित्रकै अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना कोरोना संक्रमित भने प्रदेश १ बाहिरका हुन् । मृत्यु हुँने अधिकांस कोरोना संक्रमितमा अन्य दीर्घ रोगसमेत रहेको पाईएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।