
धनकुटा । धनकुटामा करेन्ट लागेर बिहिबार एक जनाको मृत्यु भएको छ । बिजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा चौबिसे गाउँपालिका–३ का ५६ बर्षीय भक्त बहादुर दर्जीको मृत्यु भएको हो ।
चौबिसे–२ स्थित जंग सामुदायिक बनमा बिद्युत लाईनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।
सल्लाको दियालो खोज्न जंगल गएका बेला बिहान करिब ११ बजे जंगलमा लत्रिएको तार छुँदा उनलाई करेन्ट लागेको हो । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।