धरान । धरान–१८ मा रहेको सोलुखुम्बु होटलमा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
तन्नाको पासो लगाएर पंखाको रडमा झुण्डिएको अवस्थामा दर्नालको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए । ‘दर्नाल र धरानकी एक विवाहित महिला कोठामा सँगै बसेका रहेछन् । ती युवतीका दुई जना केटी साथी पनि होटलकै अर्को कोठामा बसेको पाईयो ।’ डिएसपी बस्नेतले भने–‘हामीले तीनै जना युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरी घटनाको बिषयमा थप अनुसन्धान गर्दैछौ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार होटलमा सँगै बसेका दर्नाल र ती महिलाबीच केही समययता सम्बन्ध रहदै आएको थियो । बच्चासमेत भईसकेकी ती महिला र उनका श्रीमानबीच भने राम्रो सम्बन्ध थिएन । दर्नाल मृत फेला परेपछि प्रहरीले तीनै जना युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
मृतकको शरिरमा कुनै चोटपटक भने नदेखिएको डिएसपी बस्नेतले बताए । उनको शवलाई बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । तर, रिपोर्ट आउँन बाँकी छ ।