
सुनसरी । सुनसरीको इनरुवामा श्रीमती जिस्क्याएको भन्दै एक पुरुषले वृद्धमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका छन् । आफ्नी श्रीमतीलाई पटक–पटक जिस्क्याएर आजित बनाएको भन्दै इनरुवा नगरपालिका–८ का ३९ बर्षीय बलबहादुर खड्काले छिमेकी ६५ वर्षीय चन्द्रबहादुर कोइरालामाथि खुकुरी प्रहार गरेका हुन् ।
कोईरालाकै घरमा पुगेर खड्काले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कोईरालासहित उनकी श्रीमती ६३ बर्षीया भगवती पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएस्पी नगेन्द्रबहादुर कार्कीले संगालोखबरलाई बताए । श्रीमनलाई कुखुरी प्रहार भएपछि छुट्याउने क्रममा भगवती पनि घाईते भएकी हुन् । खुकुरी प्रहारबाट दुबै जनाको शरीरका विभिन्न अंगमा चोट लागेको छ । उनीहरुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचार भईरहेको छ । घाईते कोईरालाको अवस्था गंभीर छ ।
आफ्नी श्रीमतीलाई कोईरालाले गलत नियतले पटक–पटक निस्क्याएर हैरान पारेकाले खुकुरी प्रहार गरेको खड्काले प्रहरीसमक्ष बयान दिएका छन् । खुकुरी प्रहार गर्ने खड्काबिरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेर कारबाही प्रकृया अघि बढाएको छ ।