झापा । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाउँदा झापाका एक वृद्धाको मृत्यु भएको छ । समयमा उपचार हुन नसक्दा झापाको मेचीनगर–५ का ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ९ बजे मृत्यु भएको हो ।
श्वासप्रस्वासमा समस्या भएपछि असोज १ गते उनलाई उपचारका लागि कनकाई अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईएको थियो । तर, प्रतिष्ठानमा तीन घण्टासम्म अस्पताल प्रवेश गर्न नदिएपछि समयमा उपचार नपाएकै कारण स्वास्थ्य थप कमजोर बन्दै गएर बिरामीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको छ ।