विराटनगर । प्रदेश १ का थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १ सय ५, सुनसरीका ९, झापाका २ तथा उदयपुर र संखुवासभाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा एकैदिन ९७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा ५ महिला ४ पुरुष संक्रमित भएका छन् । झापाको विर्तामोडमा १ पुरुष र मेचीनगरमा १ महिलामा संक्रमण देखिएको छ । यता, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा एक/एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ । जसमध्ये २ हजार ५ सय ५२ जना निको भएका छन् । प्रदेश १ मा आज पनि १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३/३ जना डिस्चार्ज भएका हुन् ।
यसैबीच बिगत २४ घण्टाको अवधिमा प्रदेश १ मा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुँनेमा ताप्लेजुङ, सुनसरी र झापाका १÷१ महिला छन् । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।