धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मेचिनगर–८ झापाका ७२ बर्षीया बृद्धा र ईनरुवा–४ सुनसरीका ४९ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
झापाको कन्कई अस्पतालबाट रेफर गरेर पठाईएकी मेचिनगरकी बृद्धको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कमजोर हुँने र न्यूमोनियाको लक्षण देखिएकी उनको उपचारका क्रममा गएराती करिब ९ः२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
त्यस्तैगरी प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएकी ईनरुवाकी महिलामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्याका कारण अस्पताल भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएपछि कोभिड अस्पताल सारिएको थियो । मृगौलाको समस्या भई डायलाईसिससमेत गराउँने गरेकी उनको उपचारका क्रममा गएराती करिब २ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।