- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका क्यान्सरपीडित १५ बर्षे बालक कोरोनामुक्त भएका छन् । धनकुटा नगरपालिका–६ घर भएका क्यान्सरपीडित बालकमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी १० दिनमा निको भएर घर फर्किएका हुन् ।

क्यान्सरको उपचारका लागि प्रतिष्ठानमा गएका बेला उनको पीसीआर परीक्षण गरिएको थियो । स्वाब दिएर धनकुटा फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई प्रतिष्ठानमै ल्याएर भर्ना गरिएको थियो । सामान्य ज्वरो आएका उनी १० दिनमा कोरोनामुक्त भई घर फर्किएका हुन् । योसँगै धनकुटामा कोरोना संक्रमणमुक्त हुँनेको संख्या ४३ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । संक्रमण पुष्टि भएका ४५ मध्ये धनकुटाकी महिला अधिकारकर्मी शुक्री राई र एक प्रहरी औद्योगिक ग्रामस्थित आईसोलेशनमा छन् । बाँकी सबै संक्रमित संक्रमण पुष्टि भएको दुई साता भित्रै निको भएका छन् ।

संक्रमण पुष्टि भएपछि अधिकारकर्मी राई केही दिन अघि आईसोलेशन भर्ना भएकी हुन् भने संक्रमित ती पुरुष प्रहरी भने झण्डै तीन साता यता आईसोलेशनमै छन् । उनको तेस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ नै आएको छ । संक्रमण पुष्टि भएको १० र १७ दिनमा गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएपछि अब २४ दिनमा उनको पुनः परीक्षण गर्ने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!