- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी महिला अधिकारकर्मी शुक्री राईलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महिला पुनस्थापना सेवा केन्द्रकी उपाध्यक्षसमेत रहेकी ४२ बर्षीया राईमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही दिन अघि बिराटनगरस्थित कोशी अस्पतालबाट फर्किएकी राईको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । धनकुटामा बलात्कृत १४ बर्षीया बालिकालाई सुत्केरी गराउँनका लागि राई कोशी अस्पताल गएकी थिईन् । बिराटनगरबाट फर्किएपछि धनकुटा–७ स्थित महिला पुनस्थापना केन्द्रमा ‘होम क्वारेन्टाईन’ बसेका राईसहित तीन जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा सुत्केरी बालिकासहित दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकी राईको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य रुघा र घाँटी खसखस गर्ने समस्या देखिएको राईले संगालोखबरलाई बताईन् । ‘दुई दिन अघि सामान्य रुघा लाग्यो, घाँटी पनि खसखस भएको थियो, अहिले सुधार हुँदै गएको छ ।’ उनले भनिन् ।

केही दिन अघि धनकुटा–६ मा संक्रमण पुष्टि भएकाको कन्ट्राक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी धरान पठाईएकाहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । पछिल्लो पटक ४१ जनाको स्वाब संकलन गरी पठाईएको मध्ये राईको मात्र रिपोट पोजिटिभ आएको हो । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ४५ पुगेको छ । जसमध्ये ४० जना निको भएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

यसैबीच धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशनमा रहेका पाँच जना पनि कोरोनामुक्त भएका छन् । उनीहरुलाई बुधबार डिस्चार्ज गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!