- संगालोखबर सम्बाददाता

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारका होटल व्यवसायीहरुले होटल सञ्चालन गर्ने वातावरण मिलाउँन प्रशासनसँग माग गरेका छन् । लामो समयको बन्दाबन्दीका कारण होटल व्यवसाय क्षेत्र नराम्रोसँग प्रभावित बनेको भन्दै व्यवसायीहरुले होटल सञ्चालनका लागि सकारात्मक भूमिका निर्वाह गर्न माग गरेका हुन् ।

Advertisement

बन्दाबन्दीका कारण छ महिना यता होटल व्यवसाय ठप्प भएपछि सोमबार भेडेटारका होटल व्यवसायीहरु होटल सञ्चालन गर्ने वातावरण मिलाउँन पहलका लागि जिल्ला सदरमुकाम पुगेका थिए । होटल व्यवसायीहरुले सदरमुकाम गएर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाई होटल सञ्चालनका लागि सहजिकरण गर्न अपिल गरेका हुन् । उनीहरुले मंगलबार भेडेटार प्रहरी र साँगुरीगढी गाउँपालिकालाई पनि ज्ञापन पत्र बुझाउँने तयारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले अहिले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर होटल व्यवसाय सञ्चालनका लागि अनुमति दिएको छ । तर, भेडेटारमा सहज रुपमा सवारी आवतजावत हुन नपाउँदा पर्यटकहरु आउँन नसकेकाले होटलहरु सञ्चालन हुँन नसकेको व्यवसायीहरुको गुनासो छ । अन्तरजिल्ला यातायात आवतजावतमा कडाई गरिएकाले तराई क्षेत्रबाट पर्यटकहरु आउँन नसक्दा भेडेटारका होटल खुल्ला भएतापनि ग्राहक सुन्य छन् ।

बन्दाबन्दी खुलेर पनि होटल सञ्चालन हुन नसकेपछि व्यवसाय सञ्चालनका लागि यातायात आवतजावतमा सहजता प्रदान गर्न माग राखिएको भेडेटार होटल एसोशिएसनका अध्यक्ष जितेन्द्र राईले संगालोखबरलाई बताए । ‘छ महिना पछि होटल त खोलेका छौ । तर, ग्राहक आउँन पाएका छैनन ।’ अध्यक्ष राईले भने–‘भेडेटारमा आउँने अधिकांस बाह्य जिल्लाका हुन्छन् । त्यसैले बाहिर जिल्लाबाट आउँनेलाई यातायातमा सहजता मिलाउँन प्रशासनलाई आग्रह गरेका हौं ।’

पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तब्य भनेर चिनिने भेडेटारसहित आसपास क्षेत्रमा करिब डेढ सय होटल छन् । जसमा ४ सय भन्दा बढी मजदुरले रोजगारी पाएका छन् । सामान्य अवस्थामा दैनिक करिब ३ हजार आन्तरिक तथा बाह्य पर्यटक आउँने भेडेटार अहिले सुनशान छ । लामो समयको बन्दाबन्दीका कारण होटल सञ्चालन हुँन नसक्दा होटल व्यवसाय क्षेत्रले करोडौंको घाटा बेहोर्नु परेको छ । यता, होटलमा काम गर्ने मजदुरलाई दुई छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!