- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ५४ कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ का ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

Advertisement

मोरङका ८०, सुनसरीका ६०, भोजपुरका ५, धनकुटाका ४, झापाका ३ तथा ताप्लेजुङ र उदयपुरमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरका ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १/१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष संक्रमित थपिएका छन् । भोजपुरको षडानन्दमा १ महिला ४ पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

यता, धनकुटाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौविसे गाउँपालिका–७ मौनाबुधुकका १ महिला २ पुरुष र धनकुटा नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । चौबिसेका तीन जना धनकुटामै हुँदा संक्रमण पुष्टि भएको भएपनि धनकुटा नगरपालिकाका पुरुष भने उपचारका लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हुँदा संक्रमण पुष्टि भएको हो । उनी अहिले प्रतिष्ठानमै छन् ।

त्यस्तैगरी, झापाको कमल गाउँपालिका र कनकाईमा १/१ पुरुष र शिवसताक्षीमा १ महिला संक्रमित भएका छन् । ताप्लेजुङको मेरिङदेनका १ महिला र उदयपुरको त्रियुगाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा हालसम्म १ लाख ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १२ पुगेको छ । जसमध्ये १ हजार ९ सय ४८ जना निको भएका छन् ।

प्रदेश १ मा आज पनि ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाको आईसोलेशनबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३ र जिल्ला अस्पताल संखुवासभाबाट ५ जना डिस्चार्ज भएका छन् । त्यस्तै होम आईसोलेसनमा रहेका ४ जना पनि निको भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!