- मीनप्रसाद अधिकारी

युनेस्कोले सन् १९६५ मा घोषणा गरी सन् १९६६ सेप्टेम्बर ८ बाट दिवसका रुपमा यसका सदस्य राष्ट्रहरुले मनाउन थालेको दिवस हो अन्तराष्ट्रिय साक्षरता दिवस । विश्वका सबै मानिसहरुलाई शिक्षित बनाउने लक्ष्यसहित स्थापना भएको यो दिवसको उद्देश्य केवल साक्षरतामा मात्र सीमित नभई कर्तव्यबोध, मानवताबोध, भ्रातृत्वसँग पनि गाँसिएको छ । यसले व्यक्तिगत, सामुदायिक, सामाजिक रुपले साक्षरताका कारण समाजमा प्रकाश छर्ने कार्य गर्दछ ।

Advertisement

साक्षर विशेषण शब्दमा ता प्रत्यय लागेर साक्षरता नाम शब्द बनेको हो । साक्षर शब्दले अक्षर चिनेको, जानेको, लिपि चिनेको अलि-अलि लेखपढ गर्न सक्ने, अल्पशिक्षितलाई बुझाउँदछ र साक्षरताले साक्षर हुनुको भाव वा अवस्थालाई जनाउँदछ । साक्षरतासँगै अभियान, कार्यक्रम शब्द पनि जोडिएर आएका हुन्छन् ।

अभियान जोडिँदा अक्षर नचिनेका वा नजानेकाहरुलाई अक्षर चिनाउन र लेखपढ नगरेकाहरुलाई केही लेखपढ गर्न चलाइने अभियान बुझिन्छ भने कार्यक्रम जोडिँदा पनि निरक्षर वा अशिक्षितहरुलाई साक्षर तथा शिक्षित बनाउन चलाइने कार्यक्रम भन्ने नै बुझिन्छ । यसरी हेर्दा यो साक्षरता शब्दसँग हाम्रो पहिचान जोडिएको हुन्छ । हाम्रो अवस्थाको चित्र आएको हुन्छ । हामी कति साक्षर छौं, यो फरक-फरक सन्दर्भ र परिवेशमा फरक-फरक तवरले अथ्र्याइने विषय हो ।

विद्यालय वा महाविद्यालयका उच्च शिक्षा हासिल गरिसकेकाहरुलाई पनि समय सान्दर्भिक र प्रविधिका अनि विज्ञानका कतिपय आविष्कारका प्रयोग उपयोगमा साक्षर मात्र हौं र छौं भन्ने अवस्था हामीमा रहेको छ । कुनै एक विषयका विज्ञ अन्य कतिपय विषयमा साक्षर पनि नहुने गर्दछ । त्यसैले साक्षर बन्ने कुरा सिकाइको परिभाषासँग मिल्दोजुल्दो वा जीवनपर्यन्त चल्ने पक्रिया हो भन्दा फरक नपर्ला । हामीले कतिपय कुरामा भर्खरै साक्षर हुँदैछु भन्नु हाम्रो महानता नभएर हविगत हो ।

वास्तवमा साक्षरता दिवस भन्ने बित्तिकै हामी विद्यालय र सोसँग सम्बन्धितहरुले मात्र मनाउने होला भन्ने सम्झन्छौं । यो हरेक व्यक्तिले आफूबाट मनाउन शुरु गर्नु जरुरी रहेको दिवस हो । आफ्नो कलेज अथवा विद्यालयका ब्यानर बोकेर घर-घर, चोक-चोक, गल्ली ,सडक समाजका बस्ती-बस्ती सबैतिर पुगेर प्रचारका अभियान वा कार्यक्रम चलाई रहँदा कतै आफ्नै घरमा काम गर्ने बालबालिका वा घरका अभिभावक नै निरक्षर त छैनन्? यसमा ध्यान दिनु जरुरी हुन्छ । सबैका लागि शिक्षा भन्ने नारालाई कार्यान्वयन गर्न तथा सबै नागरिकलाई साक्षर बनाउन यस्ता दिवस र समारोह मात्र प्रर्याप्त नहुन सक्छन् । यसका लागि नागरिकले कर्तब्यबोध र मानवताको मार्ग अवलम्बन गर्नु राम्रो हुन्छ ।

नेपाल मानव विकास प्रतिवेदन २०१८ का अनुसार नेपालको प्रदेश स्तरीय साक्षरता दर त्यति सन्तोषजनक रहेको पाईँदैन । यो प्रतिवेदन अनुसार प्रदेश एकमा ५६.३ प्रतिशत मात्र साक्षरता रहेको छ । त्यसैगरी प्रदेश दुईमा ४०.९ प्रतिशत, प्रदेश तीन ( बागमती) प्रदेशमा ६९.३ प्रतिशत, प्रदेश चारमा ५५.६ प्रतिशत, प्रदेश पाँचमा ५९.४ प्रतिशत, कर्णाली प्रदेशमा ५३ प्रतिशत र सुदुरपश्चिम प्रदेश ( सात) मा ५४.९ प्रतिशत साक्षरता दर रहेको छ ।

देश गणतन्त्रात्मक मूलुक भई सकेर नेपालको संविधानमा नै शिक्षालाई मौलिक हकका रुपमा राखी सकेको यो अवस्थामा साक्षरताको अवस्था प्रगतितर्फ उन्मुख रहेको भने अवश्य नै छ । तापनि एकदिने दिवस र अभियानले मात्र यसको लक्ष्य पूरा नहुन सक्छ । त्यसैले साक्षरताका लागि हाम्रो सोच र व्यवहारमा पनि परिवर्तन हुनु जरुरी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!