विश्वभर फैलिएको कोरोना भाइरसको त्रास मनमा कायमै रहेपनि चैत्र वैशाखको जति भने थिएन । आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्ने क्रममा कार्यक्षेत्र बारामा थिए । पहिला मलाई त्यस्तो कुनै जटिल समस्या थिएन । साउनको १६ तिर निषेधाज्ञा जारी भयो । १५ दिन जति कोठामै बसियो । त्यहीबेला अचानक मलाई साउन २४ गतेदेखि घाँटीमा समस्या भयो, सास फेर्न अलि गारो भए जस्तो भयो । अनि डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरे । फेरी सुख्खा खोकी लाग्न सुरु भयो । २ दिन जति भित्री ज्वरो आएको रहेछ । तर, मलाई पत्तै भएन । धेरै छट्पटी भयो, त्यति खेर भित्रभित्रै पोलेको महसुस हुन्थ्यो । त्यसपछि नुहायो अलि सित्तल भए जस्तो हुन्थ्यो, फेरी उस्तै भइहाल्थ्यो । एक हप्ता जति निकै गारो भइसकेको थियो । खान पनि मन लाग्न छोडेको थियो । शरीर गल्दै गयो, २/४ मिनेट पनि उभिन नसक्ने भए । शरीर सबै गलेर थचक्क बसी जानु जस्तो हुन्थ्यो । कोठामा एकजना मेडम् (नाम खुलाउँन चाहिँन) र म बस्थ्यौं । मलाई उहाँले धेरै हेरचार गर्नु भयो, बिरामी छु भनेर टाइम–टाइममा जे रुच्छ त्यहि बनाएर दिनु हुन्थ्यो । र पनि बिरामले चापेर खान केही मन लाग्न छोडिसकेको थियो । निन्द्रा पनि राम्रोसँग लाग्दैन थियो । साउन २८ गते राती मलाई एक्कासी सास फेर्न गारो भयो । सुत्न पनि सकिन घाँटीमा के आएर अड्किए जस्तो हुने, सास फेर्नै गारो हुने र मुख सुक्ने भयो । तातो पानी खाँदै बल्लतल्ल रात बिताएँ ।
विहान भयो, अफिसमा फोन गर्यौ, पीसीआर परीक्षण गर्ने सल्लाह भयो । मलाई निकै गारो भएकाले साउन २९ गते वीरगञ्ज गएर स्वाब दिए । दुई दिनपछि खबर आयो–‘तपाईंको पीसीआर पोजिटिभ छ ।’ सुन्नासाथ यति धेरै टेन्सन भयो, म रुन थाले । मेडम् मेरो छेउमा आएर वस्नु भयो । मलाई डर लाग्यो, उहाँलाई सर्छ भनेर । उहाँको ३० गते स्वाब दिएको रिपोर्ट आएको थिएन । त्यति खेर उहाँको आँट साहस देखेर मलाई गर्व लाग्यो । मेरो छेउमै वस्दा मलाई धेरै माया लाग्यो । सोचे–‘म त संक्रमित भएँ–भएँ, उहाँँलाई केही नहोस् ।’
त्यसपछि हामीले अफिसमा फोन गर्यो, घरमा पनि कुरा भयो । सबैको सल्लाह बमोजिम घोपाको आईसोलेसनमा जाने निर्णय भयो । साँझ ५ बजे बाराको कलैयाबाट हिँडेर राती १२ बजे घोपा क्याम्पमा आयौ, मलाई वेड भर्ना गरियो । भोलि पल्ट विहान एक्कासी ज्वरो आउन सुरु भयो । ज्वरोले म अस्त–अस्त भएँ । मलाई हत्तपत्त ज्वरो पनि आउँदैन थियो । कुनै बेला १०२ कुनै बेला १०१ अनि ज्वरो घटेको भनेको १०० हुन्थ्यो । सिटामोल दिनको तीन पटक खाइरहेकी थिए । ८ दिनसम्म यसैगरी ज्वरो घट्ने बढ्ने हुँदै गयो, म झनै कमजोर भए । वरपर वेडमा वस्ने साथीहरुले मैले पानी तताउन नसकेको बेला तताएर दिनु भयो । औषधी सकिँदा आफुसँग भएको औषधी खान दिएर सहयोग गर्नुभयो । मलाई ज्वरोले शिथिल पारिसकेको थियो । उठ्न पनि सक्दिन थिएँ । त्यहाँ संक्रमित भएर आउने मध्ये ४/५ जना दाई–दिदी, भाइ–बहिनीले मलाई निकै मायाँ गर्नु भयो । भन्नुहुन्थ्यो–‘हामीलाई पनि सुरुमा त्यस्तै हुन्थ्यो पछि विस्तारै ठिक हुंदै गयो खाना खान नछोड्नु, आत्मावल बढाउनु, टेन्सन नलिनु यो रोगलाई जित्न सकिन्छ ।’ अनि मलाई पनि आँट बढेर आयो । उहाँहरु म भन्दा २/४ दिन अगाडि आउनु भएको रहेछ । मलाई आईसोलेसन बस्दा केही नियम थाहा नभएकाले यहाँहरूले नै सबै भन्दिनु भयो । एउटै परिवारको सदस्य जस्तै उहाँहरुको मायाँ पाएर म त्यही रमाउन थाले, के गर्नु रोग निको पार्नु थियो ।
त्यहाँ डाक्टर नर्स कोही पनि नआउने, फोनको माध्यमबाट सल्लाह दिने, सारो–गारो पर्दा आफै होसियार भएर सावधानी पूर्वक आफैँले उपचार गर्नु पर्ने नियम रहेछ । मेरो भोगाई र अनुभव अनुसार यो भाइरसले शरीरमा कुनै बेला एउटा लक्ष्मण देखा पर्छ, फेरी त्यो अलि कम हुन्छ अर्को देखा पर्ने रहेछ । यसले शरीरमा चाँडो–चाँडो जटिलता उत्पन्न गर्दै जाँदो रहेछ । ज्वरो घट्यो, घाँटीमा सास फेर्न गारो, सास फेर्न अलि सहज हुन्छ अनि खोकी लाग्ने समस्या । यस्तै हुँदै हुँदै १० दिनदेखि स्वास्थ्यमा अलि सुधार हुँन थाल्यो । अनि अब चै बाँच्छु जस्तो आशा पलायो ।
आईसोलेसनमा बस्दा विहान वरीपरी हिँडडुल गरे, योगा गरे, नुन पानीले दिनको ३ पटक घाँटी कुल्ला गरे, दिनमा ३ पटक वाफ लिए, अदुवा वेसार तुलसीको पत्तासहित तातो पानी खाइरहें, गुर्जो पानी खाएँ । गुर्जोले प्रेसर लो गराउने रहेछ, त्यसलाई अवस्था हेरेर खानु पर्ने रहेछ । समय–समयमा खानेकुराहरू मिलाएर खाइरहें । आफन्तले बाहिर बाटै खाना ल्याईदिनु हुन्थ्यो । झोलिलो कुराहरू प्रशस्त खाँए, फलफुल तातो पानीमा तताएर खाँए । खानामा रुची थिएन, स्वाद पनि अगाडिदेखी नै हराउँदै गएकोले जिब्रोले स्वाद पनि थापा पाउँदैन थियो, र पनि बल गरेंर खाँए । खासै टेन्सन लिइन र नकारात्मक कुरा मनमा खेलाइन । त्यही समय तीज पनि आयो, मलाई ज्वरोले सताईरहेको थियो । फेसवुक खोलेर हेरेें, तीजको रमझम देखेर पनि त्यसलाई कुनै वास्ता गरिन् । म जहाँ छु, जे छु, जस्तो अवस्थामा छु, जस्तो परिवेशमा छु, त्यसैको सेरोफेरोलाई मात्र नियालेर चहर्याएको घाउमा आफै मलम पट्टी लगाए, अनि पिँडा आफु भित्रै दवाए ।
म आउनु भन्दा एक दिन अगाडि पल्लो वेडमा एक जना आमालाई राखेको रहेछ । आमालाई मुटुको रोग र दम पनि रहेछ । उहाँलाई खोकी र सास फेर्न गारो भएर भेन्टिलेटरमा लगिएछ । सँगै संक्रमित हुनुभएको उहाँको छोरी र ९ वर्षको नाती हामीसँगै ओल्लो पल्लो वेडमा थियौं । अचानक उहाँको आमा सारै हुनुभयो भनेर फोन आयो । हामी सबै डरायौ, अतालियौ अब आमालाई के हुने हो भन्दै । फेरी फोन आयो–‘आमा बित्नु भयो ।’ हामी झनै डरायौ, मलाई त्यतिबेला अलिक बढी डर लाग्यो, बिरामले चापिरहेको थियो, त्यही भएर अब बाँचिदैन कि जस्तो भयो । मैले मृत्युलाई नजिकबाट नियाले । उहाँको छोरीले भक्कानिदै भन्नुभयो ‘आमालाई हाँसी–हाँसी ल्याएको आज कसरी बित्नु भयो । कतै आमाले उपचार नपाएर त बित्नु भएन ?’ त्यो शब्दले मन भक्कानियो । एउटै परिवारका तीन जनाको सँगै पीसीआर पोजिटिभ आएको आमा बित्नुभयो, छोरी र नाति निको भएर घर जानु भयो ।
बिस्तारै मलाई अलि सन्चो हुन थालेपछि मैले त्यहाँ बस्ने अरू बिरामीहरुलाई जाने, सकेको सेवा र सहयोग गर्न थालें । कतिपय टाढाबाट आएका विरामी बाहिर आफ्नो मान्छे कोही पनि नभएकाले मैले आफुसँग भएको सेनिटाइजर उहाँहरूलाई पनि दिए । कागती र फलफुलहरु पनि दिए । संक्रमित भएर आएका ३ र ५ वर्षका बच्चा पनि हामीसँगै थिए । तिनीहरुको मायाँ लागेर मैले हिर्लिक्स र माक्स पनि मगाएर दिए । कतिपय संक्रमितले फोहोर गरेको भनेर एकले अर्कालाई गाली गर्ने पनि गर्थे । तर, समग्रमा आईसोलेशन मित्र पनि एक अर्काबीच आत्मियता थियो । सबैको पीडा उस्तै उस्तै थियो । नर्सहरूले पनि फोनबाटै सान्त्वना दिने मायालु व्यवहार देखाउँनु हुन्थ्यो । आफन्त, साथिभाई, सुभचिन्तक लगायत सबैले त्यो अवस्थामा विभिन्न माध्यमबाट दिएको माया, प्रेरणा र हौसला नै मेरो कोरोना जित्ने औषधी बन्यो । उहाँहरु सबैको कामना र मेरो भाग्यले गर्दा नै कोरोनालाई जितेर यो कालो रातको अन्त्य गरी नयाँ विहानीमा प्रवेश गर्न सफल भए । यो नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धी र खुशी हो ।
१३ दिनको आईसोलेसन बसाईपछि भदौ ११ गते मेरो पीसीआर रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भई घर फर्किदा परिवार र समाजवाट राम्रो व्यवहार पाए । म घर आएको थाहा पाएर मेरा छरछिमेकी नडराई मेरो घरमा आउनु भयो । बरु म डराएँ । तर उहाँहरु डराउनु भएन । भोलि हामीलाई पनि लाग्न सक्छ भन्दै मलाई माया हौसला दिएर जानु भयो । कोरोना सजिलै सर्छ भनेर पनि कसरी विश्वास गरौं, मसँगै कोठामा बस्ने मेडम्लाई तीन पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आयो । अब, डाक्टरको सल्लाह वमोजिम स्वास्थ्य मापदण्डको पूर्णपलना गरिसकेपछि म आफ्नै कार्यक्षेत्र बारा फर्किने छु ।
समाजले गरेको व्यवहारले म अत्यन्तै खुशी छु । उहाँहरुप्रति उच्च सम्मान गर्न चाहन्छु । मेरो जस्तै सबैको समाजमा चेतनाको विकास होस्, उदाहरणीय समाज होस् । संक्रमित भनेर कसैले कसैलाई पनि हेला नगरौ । भोली तपाईंको पनि घुमिफिरी यही दिन आउन सक्छ, अनि तपाईंलाई पनि कसैले गरेको तिरस्कारप्रति दुःख लाग्न सक्छ, त्यो पनि ख्याल गरौं । आज केही भएको छैन, कोरोना केही हैन भनेर हेलचेक्राई नगरौं, सबैले सावधानी अपनाऔं ।