
बिराटनगर । बिराटनगरमा व्यापारीहरुलाई पेस्तोल देखाएर पैसा असुल्ने पाँच जना पक्राउ परेका छन् । हतियार देखाएर पैसा माग्ने र नदिए ज्यान मार्ने धम्की दिएर रकम असुल्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्दकिसोर साह र भारतको बिहार राज्य सितामणीका २७ बर्षीय राजु साह छन् ।
बिराटनगर–४ कंचनवारी एरियाबाट मंगलबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै ३ राउण्ड गोली, १ थान को.३२ प.७५२५ नम्बरको मोटरसाईकल, १६ थान मोवायल सेट, १ थान चक्कु र कोटक महिन्द्रा नामक भारतीय बैङ्कको २ थान चेक फेला परेको छ । यता, नेपाली रुपैयाँ १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यो समुहले संगठित रुपमा आपराधिक कृयाकलाप गर्दै आएको थियो । उनीहरुले व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका पाँचै जनाबिरुद्ध हातहतियार खरखजना, आपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















