
धनकुटा । धनकुटामा भोलिबाट निषेधाज्ञा कडाई गरिने भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि आज राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म निषेधाज्ञा कडाई गरिने भएको हो ।
आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायमा कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा पार्ने निर्णय गरेको हो । बैठकले बजार पसल खुल्ने समय परिवर्तन गरेको छ । अब बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न लगायत अत्यावश्यक पसल मात्र खुल्ला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले संगालोखबरलाई बताए । ‘टेलिकमका कर्मचारी, व्यापारी र बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएकाले संक्रमण थप फैलन नदिन निषेधाज्ञा कडाई गर्दै पसल खुल्ला गर्ने समय घटाएका छौ ।’ उनले भने ।
यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सम्पूर्ण पसल खुल्ला हुँदै आएका थिए । तर, अब अत्यावश्यक पसल पनि बिहान ३ घण्टा मात्र खोल्ने निर्णय भएको हो । यता, बैंक तथा बित्तिय संस्था तथा कार्यालयहरुले सकेसम्म अनलाईन प्रणालीबाट काम गर्ने पनि निर्णय भएको छ । बजारमा हिडडुल गर्नेहरुलाई पनि थप कडाई गरिने भएको छ ।















