धनकुटा । धनकुटामा निर्माण गरिएको आईसोलेशन सेन्टरमा आजबाट कोरोना संक्रमितलाई राखेर उपचार थालिएको छ । धनकुटाको औद्योगिक ग्राममा २० बेडको आईसोलेशन निर्माण गरेर कोरोना संक्रमितको उपचार थालिएको हो ।
सञ्चालनमा आएको पहिलो दिन नै कोरोना संक्रमितले आईसोलेशन भरिएको छ । पहिलो दिन नै आईसोलेशनमा १९ जना कोरोना संक्रमित भर्ना भएका छन् । आईसोलेशनका २० मध्ये अब एउटा बेड मात्र खाली छ । कोरोना संक्रमण पुष्टि भएका १३ प्रहरी, ४ जना दुरसञ्चारका कर्मचारी, १ जना व्यापारी र १ जना बैंकका कर्मचारी आईसोलेशनमा भर्ना भएका छन् ।
शनिवार एकैदिन धनकुटाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई जिल्लाकै आईसोलेशनमा राखेर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । धनकुटा अस्पतालका स्वास्थ्यकर्मी र धनकुटा नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीको कोरोना संक्रमितको निगरानी गर्नेछन् ।
यसअघि धनकुटाका कोरोना संक्रमितहरुलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँस्थित कोभिड अस्पताल र बिराटनगरस्थित कोभिड अस्पताल पठाउँने गरिएको थियो ।
धनकुटामा हालसम्म ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ जना निको भएका छन् । १ जनाको बिराटनगर र दुई जनाको गोठगाउँस्थित कोभिड अस्पतालमा उपचार भईरहेको छ ।