
धरान । धरान उपमहानगरपालिका वडा नं.–१७ का कोरोना संक्रमित आमा–छोराको आज बिहान मृत्यु भएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७४ बर्षीया आमा र ६० बर्षीय छोराको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
दुबै जनालाई हिजोसाँझ अस्पताल भर्ना गरिएको थियो । अत्याधिक खोकी, श्वासफेर्न गाह्रो हुने र ज्वरो आएकी बृद्धाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ भएको हो । उपचारकै क्रममा बिहान करिब ८ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई मधुमेह र उच्च रक्तचापको समस्यासमेत थियो ।
यता, करिब १० दिनदेखि ज्वरो आउँनुका साथै अत्याधिक खोकी र स्वास फेर्न गाह्रो हुने समस्या भएका छोराको पनि प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
मधुमेहको समस्या रहेका उनलाई दुई महिना अघिदेखि कलेजोमा पनि समस्या देखिएको थियो । उपचारकै क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमित आमा–छोराको करिब ४५ मिनेटको फरकमा मृत्यु भएको हो ।















