रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा आज कोरोना संक्रमण पुष्टि भएकाहरुको जनसम्पर्क धेरै भएको पाईएको छ । जिल्लाका ८४ जनाको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धनकुटामा एकैदिन थपिएका कोरोना संक्रमित मध्ये यो नै सबैभन्दा ठूलो संख्या हो । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये घर–घरमा पुग्ने टेलिकमका कर्मचारीदेखि व्यापारी र बैंकका कर्मचारीसम्म छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ जना प्रहरी जवान, टेलिकममा कार्यरत चार जना कर्मचारी, एक जना व्यापारी र एक जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष हुन् । संक्रमण पुष्टि भएका टेलिकमका दुई जना कर्मचारी फिल्डमा हिड्ने हुन् भने एक जना काउन्टर र एक जना स्टोरमा कार्यरत हुन् । संक्रमित टेलिकमका दुई जना कर्मचारी टेलिफोन र नेट जडान तथा मर्मत गर्न ग्राहकको घर–घरमा पुग्दै आएका थिए । उनीहरुलाई लक्षण देखिएको छैन । बिगत एक साता यता आफुहरु टेलिफोन र नेट जडान तथा मर्मत गर्न धनकुटा बजारका करिब ६० घरमा पुगेको संक्रमित एक कर्मचारीले संगालोखबरलाई बताए । ‘हामी फिल्डमा नियमित खटिरहेका थियौ ।’ उनले भने–‘कामको सिलसिलामा एक हप्ता यता बजारका झण्डै ६० भन्दा बढी घरमा पुगेका छौ ।’

टेलिकमको काउन्टरमा बस्ने संक्रमित पनि धेरै जनसम्पर्क हुने व्यक्ति हुन् । टेलिफोन/नेटको बिल तिर्न, नयाँ सिम लिनेदेखि समस्या लिएर टेलिकम पुग्ने लगायत अधिकांस ग्राहकसँग उनको प्रत्यक्ष सम्पर्क हुने गर्छ । त्यस्तै, धनकुटाको हुलाकटोलमा व्यापार गर्दै आएका एक व्यापारी पनि संक्रमित भएका छन् । धनकुटामा निषेधाज्ञा खुकुलो बनाईएसँगै उनको पसल खुल्ला छ । स्रोतका अनुसार स्वाब दिएपछि पनि उनी पसलमै बसेका थिए ।

त्यस्तैगरी, धनकुटा बजारमा रहेको एनआईसी एसिया बैंकको शाखामा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संगालोखबरसँगको कुराकानीमा संक्रमित ती कर्मचारीले आफु १० दिन यता नियमित कार्यालयमा नगएको र काम पर्दा बेला–बेला मात्र जाने गरेको बताए । बैंकमा कार्यरत सहकर्मीसँग प्रत्यक्ष भेट भएपनि ग्राहकहरुसँग भने प्रत्यक्ष भेट खासै नभएको उनको दावी छ । बैंकमा कार्यरत चार मध्ये तीन जनाको पीसीआर परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । एक जनाको परीक्षण गरिएको छैन ।

यता, संक्रमित १३ जना प्रहरी झापा, मोरङ र सुनसरीबाट केही दिन अघि सरुवा भएर धनकुटा आएका हुन् । उनीहरुमध्ये २१ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । केही दिन अघि तीन जना प्रहरीको पीसीआर परीक्षण गर्दा दुई जनामा संक्रमण देखिएको थियो । संक्रमित प्रहरीहरु जिल्ला प्रहरी कार्यालयको क्वारेनटाईनमा रहेकाले उनीहरुको सर्वसाधरणसँग प्रत्यक्ष सम्पर्क नरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्…

धनकुटामा एकैदिन १९ कोरोना संक्रमित थपिए

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!