संगालोखबर सम्बाददाता

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज बिहान थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा झापाको दमक नगरपालिका–३ का ८३ बर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ की ५६ बर्षीया महिलाको मृत्यु भएको हो ।

Advertisement

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका दमकका बृद्धमा अत्याधिक खोकी, श्वास फेर्न गाह्रो हुँने र ज्वरो आउँने समस्या थियो । भदौ ३ गते बिर्तामोडस्थित बीएण्डसी अस्पतालबाट रेफर गरेर प्रतिष्ठान पठाईएका उनको आज बिहान करिब ३ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यसअघि उनमा मृगौलाको समस्याका कारण डायलायसिससमेत गरिएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या पनि थियो ।

यता, बेलबारीकी महिलामा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको हो । अत्याधिक खोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउँने समस्या रहेकी उनलाई कोशी अस्पतालले रेफर गरेर धरान पठाएको थियो । उपचारकै क्रममा आज बिहान करिब ३ः१४ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा हिजो साँझ पनि एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुँने कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!