ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल भदौ ११ गते बिहिबार ई. सं. २०२० अगस्त २७, नेपाल सम्बत ११४० ञंलाथ्व नवमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः ३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५ मिनेट देखि ३ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट व्यर्थमा तर्क, बहस र वादविवाद हुने सम्भावना छ । प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा तिक्तता आउने छ । मानसिक क्षमता घट्दै गएको अनुभूति हुनेछ । छटपटी र असन्तुष्टि बढ्ने छन, झैझगडा र विवादले तनाव बढ्ने भएकाले सतर्क रहनु पर्छ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अकर्मण्यता र लापरवाहीका कारण बन्नलागेको कुनै काम अन्तिम समयमा बिग्रन पनि सक्छ, त्यसैले आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ । चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुनसक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!