
धनकुटा । धनकुटा नगरपालिका–९ स्थित रुद्रबारी–गुठिटार सडकखण्डको खुरिलामा भासिएको सडक मर्मत गर्न थालिएको छ । सडक भासिदा कोशी राजमार्गमा गुड्ने सवारी साधनलाई आवतजावतमा जोखिम बढेपछि सडक भिडिजन कार्यालयले भासिएको सडक मर्मत गर्न थालेको हो ।
मर्मत थालिएपनि सो सडक भासिने क्रम भने रोकिएको छैन । अबिरल बर्षाका कारण करिब एक महिना अघिबाट झण्डै एक सय मिटर सडक भासिन थालेको हो । सडक मर्मत थालिएको भएपनि निरन्तर बगिरहेकाले जोखिम कायमै रहेको डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानवहादुर शाक्यले वताए । ‘हामीले नियमित सडक विस्तार गर्ने, भित्ता काट्ने र भासिएको सडकमा अन्यत्रवाट ग्राभल ल्याएर भरी लेभल बनायौं । तर, सडक भासिने क्रम चलिरहेको छ ।’ उनले भने–‘एक महिनाको अवधिमा सडक झण्डै ५ मिटर भन्दा वढी भासिसकेको छ । भासिने क्रम चलिरहदा मर्मतमा पनि समस्या भयो र जोखिम पनि कायमै छ ।’
करिव एक हप्तादेखि सो क्षेत्रमा सडक विभागले डोजर परिचालन गरिएको छ । सडक भासिएपनि भित्ताबाट यातायात आवतजावत भईरहेका छन् । भासिने क्रम बढ्दै गएमा र भासिएको सडक सोरिएर गएमा भने यातायात अवरुद्ध हुने अवस्था छ । सो स्थानमा कमेरे माटो र सिमसार पानी उम्रिने क्षेत्र भएकाले सडक भासिने गरेको स्थानीयबासी बताउँछन् ।
सडकको भित्तातर्फ माथिदेखि नै जमिन सोरिएर आएकाले त्यहाँ माथिको वस्तीलाई समेत जोखिम वढेको छ । सडक भासिएपछि सडक छेउका विधुतका पोलहरु पनि अन्यत्र सारिएको छ । २०५८ सालमा पनि सोही स्थानमा सडक भासिएको थियो ।















