
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले खाली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाँझो जमिनमा फलफूलको विरुवा रोप्न थालिएको हो ।
संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपालको संयुक्त पहलमा गाउँपालिकाको ३ सय ५० रोपनी क्षेत्रफलमा एभोकाडो र आँपको एक हजार विरुवा रोपिएको छ । गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ । त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार्वजनिक जमिनमा ५ सय बोट आँपको विरुवा रोपिएको पर्डेप नेपालका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । उक्त विरुवा खरिद गर्दा ५ लाख ५० हजार खर्च भएको थियो ।

कुनै पनि बोटविरुवा नभएका खाली जमिनहरु छनौट गरेर फलफूलका विरुवाहरु रोपिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए । उनले भने–‘फलफुलको विरुवा रोप्दा भिरालो जमिनमा पहिरो जानबाट रोक्नुको साथै कृषकहरुको आयआर्जनमा पनि बृद्धि हुन सक्छ । त्यसैले यो कार्यक्रमलाई अगाडी बढाएका हौं ।’ विश्वमा जलवायू परिवर्तनका कारण वातावरणमा गम्भीर प्रभाव परिरहेकाले वातावरणलाई बृक्षरोपणले सन्तुलनमा राख्न पनि सहयोग पुर्याउने अध्यक्ष राईले बताए ।
गाउँपालिकाले सार्वजनिक जमिनमा रोपिएको आँप र एभोकाडोको विरुवा संरक्षण तथा हुर्काउने बढाउने जिम्मा कृषकहरुलाई दिएको छ । यसबाट गरिब, विपन्न कृषकहरुलाई दिगो आयआर्जनको स्रोत बन्न सक्ने भएकाले दिगो शान्ति, समृद्ध र विकासको लागि आर्थिक रुपान्तरण गर्न बक्षरोपण अभियान अगाडि बढाईएको अध्यक्ष राईले बताए ।
सहिदभूमि गाँउपालिकामा सिंचाईका लागि प्रदेश सरकारमार्फत सिंचाई कार्यक्रम पनि सञ्चालन भईरहेकाले विरुवा हुर्काउँन सहज हुने प्रदेश सांसद निरन राई बताउँछन् । यता, स्थानीय कृषक पदम भण्डारीले पनि सिचाई कार्यक्रम सञ्चालन भईरहेकाले बाँझो र सुख्खा क्षेत्रमा बृक्षरोपण गर्न सहयोग पुग्ने बताए ।















