संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको हिले–पाख्रीवासको हिलाम्मे सडकमा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा शनिवार एक बिरामीको बाटोमै मृत्यु भएको छ । हिलाम्मे सडकमा करिब दुई घण्टा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीका ५६ बर्षीय खड्गबहादुर सार्कीको मृत्यु भएको हो ।

Advertisement

मृतकका छोरा बालकुमारका अनुसार उनी सुगर र प्रेसरको बिरामी थिए । उनलाई को.२ च. ३२२९ नम्बरको एम्बुलेन्समा राखेर उपचारका लागि धरान लैजाने क्रममा हिले–पाख्रीबास सडकमा एम्बुलेन्स फसेको हो । निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि सडक नबन्दा सो सडकमा यात्रा गर्नेहरुले बर्षौअघिदेखि सास्ती बेहोर्दै आएका छन् । बर्खामा अत्याधिक हिलोका कारण हरेक बर्ष सो सडकमा कष्टकर रुपमा सवारी साधन गुड्ने गरेका छन् । हिउँदमा धुलाम्मे सडकका कारण सास्ती बेहोर्नुपर्ने बाध्यता छ ।

बर्खाको हिलोमा गाडी भासिदा घण्टौसम्म सवारी साधन बीच बाटोमै रोकिने गरेका छन् । शनिवार पनि हिलाम्मे सडकमा ट्रक भासिएको थियो । जसका कारण दर्जनौं सवारी साधन करिब चार घण्टासम्म बीच बाटोमै रोकिएका थिए । सिकिस्त अवस्थाका बिरामीलाई लिएर आएको उक्त एम्बुलेन्स पनि करिब दुई घण्टा सोही सडकमा फस्दा अस्पताल पुर्याउँन नपाई बाटोमै बिरामीको मृत्यु भएको एम्बुलेन्स चालक राजेन्द्र खड्काले बताए ।

लथालिंग सडकका कारण समयमै अस्पताल पुर्याउँन नसक्दा बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले सडक निर्माणमा लापरबाही गर्ने प्रति आक्रोस पोखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!