- संगालोखबर सम्बाददाता

धनकुटा । गएरातीदेखि परेको अविरल बर्षाले धनकुटाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । बर्षाका कारण बिभिन्न स्थानमा पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ भने धनकुटा सदरमुकामका दुई घरमा क्षति पुगेको छ ।

सडकका विभिन्न स्थानमा पहिरो झरेपछि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको हो । धनकुुुुटा नगरपालिका वडा नंम्बर ६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायत दर्जनौं स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो । लगातारको बर्षाका कारण कोशी लोकमार्गका एक दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको छ । गर्जुवा, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरी लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ ।

बिहानैदेखि अवरुद्ध सडक खुलाउन स्थानीयबासी, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको भएपनि सडक खुल्न केही समय लाग्ने सशस्त्र प्रहरी बल हेडक्वाटर नंम्बर ६ गुल्म धनकुटाका प्रमुख डिएपी सचिन कर्माचार्यले बताए । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्ने सयौँ सवारी साधन जाममा परेका छन् ।

सडकमाथि थुप्रिएको पहिरो हटाउन डिभिजन सडक कार्यालयको स्काभेटर प्रयोग गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । धनकुटा हिले सडक खण्डको सल्लेरीमा सल्लाका रुख ढलेका कारण सडक अवरुद्ध छ ।

यता, अबिरल बर्षाका कारण गएको पहिरोले धनकुटा सदरमुकामका दुई घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका वडा नंम्बर ४ दब्रेवासमा एक घर र धनकुटा–५ मा एक घरमा पहिरोले क्षति पुर्याएको हो । बर्षाका कारण अन्य स्थानमा भएको क्षतिको विवरण आउँने क्रम जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!