
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बाट प्रहरीले करिब तीन लाख मूल्य बराबरको सखुवाको काठ वरामद गरेको छ । अबैध रुपमा काठ काटेको उजुरी परेपछि प्रहरीले ४५ क्यूफिट सखुवाको चार वाई तीनको बटम काठ नियन्त्रणमा लिएको हो ।
सामुदायिक बनका पदाधिकारी र उपभोक्ताको मिलेमतोमा स्थानीय सिन्धुबसेरी सामुदायिक वनबाट अबैध रुपमा काठ काटेको उजुरी परेको थियो । करिब दुई बर्ष अघि नै कटान गरिएको उक्त काठ बिना पूर्जी प्रक्रिया नपुर्याई काटिएको भन्ने उजुरी परेपछि नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय जीतपुरलाई जिम्मा लगाइएको धनकुटाका प्रहरी प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीय सरोज वुढाथोकीले बा.५ त ६६८९ नम्वरको ट्याक्टरमा राखेर वैकुण्ठेदेखि कहरे भन्ने स्थानमा लैजान लागेको अवस्थामा काठ बरामद भएको हो । काठ लैजाने सरोज वन उपभोक्ता समिति सदस्य फडिन्द्र वुढाथोकीका छोरासमेत हुन् । फडिन्द्रको घरमा राखिएको उक्त काठ छोरा सरोजले कहरेमा घर वनाउका लागि लैजान लाग्दा बरामद भएको बताईएको छ ।
काठको प्रकृति र वरामदी मुचुल्का गरी डिभिजन वन कार्यालय धनकुटामा प्रतिवेदन वुझाएर काठ कसरी कटान भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको सव डिभिजन वन कार्यालय जीतपुरका प्रमुख जगदिश रेग्मीले बताए ।
यता, सिन्धुबसेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तोर्णबहादुर वुढाथोकीले आफ्नो कार्यकालमा सखुवाको काठ नकाटेको भन्दै पूर्व अध्यक्ष दिपक वुढाथोकीको पालामा बन उपभोक्ता समिति सदस्य फडिन्द्र वुढाथोकीले प्रक्रिया पुर्याएरै काठ कोटेको दाबी गरेका छन् ।















