धरान । धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवक गाँजासहित धरानबाट पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–९ का १९ बर्षीय सुजन राईलाई धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले गएराती करिब ८ बजे दुई केजी गाँजासहित उनलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार राईले बोकेको झोला चेकजाँच गर्ने क्रममा झोला भित्र प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो ।
पक्राउ परेका राईबिरुद्ध सुनसरी जिल्ला अदालतमा प्रहरीले लागु औषध गाँजा मद्दा दायर गरेको छ । मुद्दा दायर गरेर अदालतबाट म्याद थप गरी उनको कारोबारका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।