धनकुटा । हराएका तथा चोरी भएका १६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय धनकुटाले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न ठाउँबाट हराएका मोबाइलहरु खोजतलास गरी फेला पारेर प्रहरीले सम्बन्धित मोबाइल धनीलाई बुझाएको हो ।
मोबाइल हराएपछि उनीहरुले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा प्रविधिको प्रयोग गरी खोजतलास गरेर मोबाइल फेला पारी सम्बन्धित धनीलाई बोलाएर बुझाउँने काम भईरहेको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए ।
प्रहरीले खोजी गर्ने क्रममा हराएको मोबाइल प्रयोग गरिरहेका व्यक्ति पत्ता लागेपछि कतिपयले आफै प्रहरी कार्यालयमा आएर नाम गोप्य राख्ने शर्तमा मोबाइल बुझाएका थिए । तीन बर्ष अघि हराएका मोवाइल पनि प्रहरीले फेला पारेको छ ।
क–कस्को मोबाइल भेटियो ?
२०७४ माघ २२ गते धनकुटा नगरपालिका–९ मुलघाटकी निरुता गिरीको घरबाट हराएको जी ६०० सामसुङ्ग गोल्ड मोबाइल गत असार २५ गते फेला परेको छ । गिरीलाई वुधवार जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रहरी प्रमुख अधिकारीले फेला परेको मोवाईल जिम्मा लगाएका छन् ।
त्यसैगरी धनकुटा–७ का सरोज भुजेलको ग्यालेक्सी जे फाईभ, इन्दिरा दाहालको ग्यालेक्सी जे फाईभ, विमला श्रेष्ठको हुवाई एक्स प्रो नाईन, बबिता दाहालको एचटीसी मोबाइल पनि प्रहरी प्रमुख अधिकारीले हस्तान्तरण गरे ।
भोजपुर साल्पा सिलिचोङ्ग गाउँपालिका–१ का दिपेन्द्र कुलुङ राईको साम्सुङ्ग ग्यालेक्सी एम फोर्टी, धनकुटा–६ का सरोजकुमार जोशीको साम्सुङ्ग ग्यालेक्सी जेटु प्राईम, साँगुरीगढी गाउँपालिका–१ का अजयकुमार लिम्वुको रेड मी नो फाईभ ए प्राईम ग्लोवल, ठेगाना नखुलेका डम्वरवहादुर कटुवालको साम्सुङ्ग ग्यालेक्सी ए टेन पनि प्रहरीले फेला पारेको छ ।
त्यसैगरी धनकुटा–७ का मिनप्रसाद सुवेदीको भिभो मोबाइल, धनकुटा–१ हिलेका मोहन शाहीको अप्पो एफ फाईभ युथ, धनपा–१० का होमप्रसाद अधिकारीको रेड्मी सिक्स, धनकुटा–६ का फुलमाया शेर्पाको साम्सुङ्ग जेटु र धनपा–६ कै विमला शेर्पाको हुवाई वाई नाईन प्राईम मोबाइल पनि फेला परेको प्रहरीले जनाएको छ ।