धनकुटा । कृषि अभियान्ता तथा लेखक जीवनप्रसाद राईको पुस्तक ‘समृद्धिका आधार’ सार्वजनिक गरिएको छ । देशको अवस्था र कृषिमा संम्भावना समेटेर राईले लेखेको पुस्तक वरिष्ठ साहित्यकार झमक घिमिरेले एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन् ।
पुस्तक लोकार्पण गर्दै घिमिरेले कृषिलाई जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको लिखित प्रतिक्रिया दिईन् । त्यस्तै झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुराँगाईले अहिलेको संरचना अनुसार सातै प्रदेशलाई छुट्टाछुट्टै भागमा समेटेर तयार पारिएको पुस्तकले कृषि क्रान्तिलाई सफल बनाउन भूमिका निर्वाह गर्ने धारणा राखे । कार्यक्रममा प्राध्यापक तथा साहित्यकार जनार्दन घिमिरे, मुकुन्द प्रयास र रमेशचन्द्र अधिकारीले पुस्तकको समिक्षा गरेका छन् ।
आफ्नो १९ औं कृतिका रुपमा रहेको यो पुस्तकमा लेखक राईले ठाँउ अनुसारको उत्पादनलाई जोड दिएका छन् । पुस्तकमा उनले देशका ७७ वटै जिल्ला पुगेको अनुभव संगालेर कृषिबाट समृद्धि पस्कन सकिने विषयवस्तु समेटेका छन् ।
७ वर्ष ९ महिना १९ दिन लगाई देश घुमेर अनुभव संगाली कृषिसँग सम्बन्धित विषयवस्तु समेटेर पुस्तक तयार गरेको लेखक राईले बताए । उनका अनुसार २०६७ साल माघ महिनाबाट भ्रमण सुरु गरिएको थियो । २०७५ सालसम्ममा ७७ जिल्लाका २ सय ६६ नगरपालिका र ३ सय ७९ गाँउपालिका घुमेर सोही आधारमा पुस्तक तयार गरिएको लेखक राईले बताए ।
पुस्तकमा सात प्रदेश मध्ये कुन प्रदेश के कस्ता कृषि, पशु, पंक्षी, माछा, वनस्पति, जलस्रोत र भूगोलमा अगाडी र संम्भावनायुक्त छन् भन्ने विषयलाई समावेश गरिएको छ । लेखक राईले यस अघि ‘कृषिबाट करोडपति’ सहित १८ वटा पुस्तक लेखेका छन् ।