Rabin Katel

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ।

Advertisement

फक्ताङलुङ गाउँपालिका-७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। भोटेका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो। बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गुर्नपर्ने बाध्यता भएको छ ।

यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको छ। सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो।

यस्तै दुई पुल बग्दा करिब १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल १२ लाख र काठको पुल भने दुई लाखको लागतमा निर्माण भएको थियो। यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन्।

तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ। नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement