धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा गएराती ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को.१ ख.४३६६ नम्बरको ट्रक राती करिव साढे ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रक चालक सिन्धुपाल्चोक घर भई मोरङको सुन्दरहरैंचा–९ बस्दै आएका २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।
अनियन्त्रित भएर पल्टिँदा ट्रकले सडक छेउमा रहेको अर्पणा लिम्बुको घर किचेको छ । ट्रकले घर किच्दा अर्पणाकी १२ बर्षीया छोरी अजुनु घाईते भएको भेडेटारका प्रहरी प्रमुख यदु खड्काले बताए । उनका अनुसार भेडेटारस्थित स्वास्थ्य सस्थामा घाईते बालिकाको उपचार भईरहेको छ । अनियन्त्रित भएर पल्टिँदा घर भत्काएर ट्रक सडकबाट करिव ५० मिटर तल खसेको छ ।
ओरालो सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर ट्रक दुर्घटना भएको अनुमान गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । दुर्घटना पश्चात ट्रकका सह–चालक फरार छन् ।
यसअघि प्रकाशित समाचार…