यो कोरोना भाइरसको महामारीले विकसित मूलुकमा स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुर्यायो तर हाम्रो नेपालमा शिक्षा क्षेत्रमा ठूलो उथलपुथल ल्यायो । वरिष्ठ शिक्षाविदेखि कनिष्ठ शिक्षकसमेत , यही कोरोनाको कारणले बनेका केही आइटी मास्टर र नव शिक्षाविद् सबैले ताली पिटे, दाँत देखाए निर्णयको समर्थन गरे । एस ई ई परीक्षा कापी कलमको पाटोबाट टाढा भयो । त्यो पनि लकडाउन खुकुलो बनाउने मन्त्री परिषद बैठकको निर्णयसँगै । सबैको ध्यान यही एस ई ई मा रैछ , विचरा सोच । यसबाट सबै अभिभावक र विद्यार्थीहरु साह्रै खुसी भए रे तर मलाई त्यस्तो लागेन मैले प्रत्यक्ष सम्पर्कमा रहेको केही अभिभावक र विद्यार्थीहरुलाई सोधे अन्योलता थपिएको बताए ।
म एसएलसी पास गरेर क्याम्पस पढ्न आएको धरातलको मान्छे । त्यो बेला क्याम्पस भनेको टोल, बस्ती, गाउँ सबैको रहर र उच्च शिक्षा आर्जनको एउटा त्यस्तो विद्यालय थियो जसको सपना सबै एसएलसीमा सामेल विद्यार्र्थीको हुन्थ्यो । कक्षा नौ र दश कै पाठ्यक्रमबाट प्रश्न पत्र तयार हुन्थे । कडा मेहनतको जरूरी पथ्र्यो । फलामे ढोकाको संज्ञा दिइन्थ्यो एसएलसीलाई । कयौँ साथीहरू त्यही रोकिनु भयो । उच्च शिक्षा आर्जन गर्ने अवसरबाट बञ्चित हुनुभयो । अथवा क्याम्पस पढ्ने अवसर पाउनु भएन । बैवाहिक सम्वन्धमा क्याम्पस पढेको र नपढेकोले ठूलो फरक पाथ्र्योे, यो सामाजिक पाटो भयो । विस्तारै यो फलामको ढोकामा ताप लगाउन थालियो यो क्रमशः बिस्तार हुनु पर्नेमा खुम्चियो कक्षा दशको मात्र पाठ्यक्रम पढे हुने भयो । यो फलाम रहेन यो पित्तल, सिल्भर हुँदै अहिले त नामोनिशान नरहने अवस्थामा पुग्यो या पुर्याइयो । मैले यहाँ बिरोध गरेको हैन सबैले ताली पड्काएको कुरा म कसरी हात बाँधेर बस्न सक्छु तर मन अलि अमिलो भने भ कै छ । के कारण भन्दा मात्र कोरोनाको कहर, त्यो पनि जब आवत जावत केही खुकुलो हुन्छ, कुनै शैक्षिक योजना बिना, कुनै पूर्व तयारी बिना, अब के गर्ने भन्ने छलफल र जानकारी बिना एस ई ई नगरिने, क्या वात सब खुसी । विद्यार्थी झन खुसी नपढी क्याम्पस पुगिने भो, डाक्टर, ईन्जिनियर, वकिल, पाइलट ….जो अहिलेको सानो बालबालिकाको पहिलो दोस्रो रोजाईमा थिए सहजै प्रवेश पाउने भए । पूरा हुने नहुने समयले हेर्ला । यसबाट फाइदा पनि छ । बजारमा हल्का पेजका केही गेस पेपरका ठेली बिस्थापित हुने भए । ट्युसन कक्षाहरू खारेज हुने भए…शिक्षक विद्यार्थीको विनोद प्रियताको कुरै नरहने भयो । अब त सोझै हेडमास्टर, प्रिन्सिपललाई रिझाए पुग्ने । थोरै सामुदायिक विद्यालयमा भने व्यवस्थापन समितिका पदाधिकारी र केही जनप्रतिनिधिको चाकरी गरे एस ई ई मा अब्बल हुने दिनको शुरूवात भयो ।
म पनि खुसी छु मैले जानेको पनि कापी, कलम र समयको लगाममा कसैको क्षमता नतोकौ, हरेक बालबालिकाको आ–आफ्नो फरक–फरक क्षमता हुन्छ । दश वर्ष पढेको कुरा तीन घण्टामा लेखेको आधारमा मूल्याङ्कन गरेर उसको भविष्य निर्धारण नगरौं, भन्ने पक्षमा छु तर यसको पूर्वतयारी खै ? यसको उपयुक्त व्यवस्थापन खै ? हामी सबैले यो सही भो भनिरहँदा त्यसपछिको व्यवस्थापन के ? यसमा अन्योलता पक्कै थपिएकै होला । नेपाल र नेपाली समाजको आकलन नगरी तारे होटलमा बसेर नीति निर्माण गर्दाको परीणाम अबको उच्च शिक्षामा के गति होला ? एस ई ई ले परिमार्जित रूप धारण गरिसक्यो अब एघार र बाह्र को अवस्था के होला ? सरकारले कक्षा एघार र बाह्रमा बिषयगत दरबन्दी अनुसारका दक्ष जनशक्ति दिएको छ त ? जसोतसो एम ए वा सो सरहमा भर्ना मात्र भएका वा भर्ना समेत नभई ठूलो–ठूलो स्वरमा कक्षा लिन हिम्मत गर्नेहरूलाई नेपालका धेरै एघार र बाह्र संचालन भएका विद्यालयमा पढाइरहेका छन् । यो क्रम एस ई ई परिमार्जन पछि थप बढोत्तरीमा जानेछ किनकी विद्यार्थी सङ्ख्या थप अवस्य हुनेवाला छन् । विषयवस्तुको भन्दा उडन्ते गफगाफको कक्षा बन्ने त हैन ? शिक्षाको वर्तमान संरचना र नीति, राष्ट्रिय उद्देश्य, स्थानीय अवश्यकता, स्थानीय स्तरमा निर्माण गरिने पाठ्यक्रम आदिमा सरकारी तयारी के ? यस्ता थुप्रै प्रश्न छन् जसको जवाफ हाल एस ई ई परीक्षा कापी कलमको पाटोबाट टाढा गरेर मात्र पुग्दैन ।
हुन त कोरोनाले ठूलो अवसर उच्च शिक्षाको लागि दिँदैछ । कम्प्युटर सिके पढाइ हुने भयो अब । यसलाई टेक्नोलोजीको ज्ञान वा नयाँ प्रविधि भन्नु पर्ला तर के साच्चै नेपाली समाजको हैसियत त्यस्तो बनि सक्यो त ? की सबैका लागि शिक्षा भनेको गलत हो त ? परिवारको एक वयस्क सदस्य वैदेशिक रोजगारीमा गएर आफ्नो क्याम्पस पढ्ने भाइ, भतिजा, दिदी–बहिनीलाई पसिनाको कमाईले पठाएको मोवाईल र केही कसैले सामान्य ल्यापटपसम्मलाई देखेर हामीले अनलाइन कक्षाको सपना बुन्नु कत्तिको उपयुक्त होला ? नेपाली भूगोल, नेपाली कामकाज सबैलाई हामीले भुलेको हो त ? कसैले सर्वेक्षण गरेको होला त की कति प्रतिशत विद्यार्थीहरू जो उच्च शिक्षा आर्जनमा रहेका छन तिनीहरूको पहुँच अनलाइन कक्षाका लागि छ ? यही पुरानै पाठ्यक्रम र विषयवस्तुको शिक्षण अनलाइनबाट ? यावत् प्रश्न उठ्छन । केहीले यसलाई फेसबुकमा ग्रुप च्याट गर्ने अवसरमा लिएको पनि देखिन्छ ।
जे होस नयाँ विकल्प खोज्ने काम भएका होलान् । केहीले यसैको वकालत गरेर कमाउनु पनि होला । बिना तयारी, बिना योजना जहाँ पुगिएला जसो होला भनेर हिँडेर हामी कहाँ पुगौँला ? कोरोना पछिको हाम्रो शिक्षा आर्जनको तरिका फेरि चुच्चे ढुङ्गो उही टुङ्गो हुने त हैन ? सबैले ध्यान दिने हो कि ।
लेखक अधिकारी धनकुटा बहुमुखी क्याम्पसका उप-प्राध्यापकसमेत हुन् ।