रबिन कटेल/संगालोखबर

बिराटनगर । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँने विषय ओझेल परेको भन्दै प्रदेश सभामा खबरदारी गरेका छन् । सोमबार र मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै सांसदहरुले गत बर्षको बजेटमा समावेश शिक्षण अस्पताल बनाउँने योजनालाई प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा नसमेटेको भन्दै खबरदारी गरेका हुन् ।

Advertisement

प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा धनकुटामा तीन बर्ष भित्र ५ सय बेडको शिक्षण अस्पताल बनाउँनका लागि ४ करोड बजेट बिनियोजन गरेको थियो । तर, चालु आर्थिक बर्ष सकिन लाग्दा पनि काम सुरु भएको छैन । प्रदेश सरकारले केही दिन अघि सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा यो बिषय समावेश नगरिएपछि प्रदेश सांसदहरुले आपत्ती जनाएका हुन् । बैठकमा बोल्दै प्रदेश सांसद इन्द्रमणी पराजुली, निरन राई, कुसुम कुमारी श्रेष्ठ, बिनादेवी राई, लिला सुब्बा र राम चन्द्र लिम्बु (आरसी तुम्बा) ले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा धनकुटामा शिक्षण अस्पताल बनाउँँने बिषयलाई नसमेटिएकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले धनकुटालाई विशेष परिस्थितीमा संबोधन गर्न गत बर्षको बजेटमा शिक्षण अस्पताल बनाउँने विषय समेटिएको स्मरण गराउँदै अस्पताल निर्माण प्रकृया अघि बढाउँने विषय नीति तथा कार्यक्रममा समावेश गर्न माग पनि गरेका छन् ।

मंगलबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा समय लिएर बोल्दै सांसद इन्द्रमणी पराजुलीले धनकुटामा शिक्षण अस्पताल बनाउँँने बिषय ओझेलमा परेको भन्दै यसमा खेलाँची नगर्न प्रदेश सरकारलाई सचेत गराएका छन् । प्रदेश राजधानी नपाएर आक्रान्त बनेको धनकुटालाई सान्त्वना स्वरुप शिक्षण अस्पतालको विषय बजेटमा समावेश भएको संकेत गर्दै उनले यो विषयमा गंभीर बन्न प्रदेश सरकारलाई सुझाव दिएका हुन् । ‘धनकुटामा शिक्षण अस्पताल बनाउँने कुरा विशेष परिस्थितीलाई संबोधन गर्न ल्याईएको थियो । यो गंभीर विषय र प्रदेश सरकारको दायित्व पनि हो । यसमा मन्त्रीहरुद्वारा खेलाँची नगरियोस्’ सांसद पराजुलीले भने–‘अबको दुई बर्ष भित्र मेडिकल कलेज बनाईसक्ने गरी नीति तथा कार्यक्रममा यो विषय समावेश गरियोस् ।’

यता, सांसद निरन राईले धनकुटा जिल्ला अस्पताललाई स्तरोन्नती गर्दै आईसोलेशन र ६ वटा भेन्टिलेटर सहितको १ सय बेडको अस्पताल बनाउँने कुरा नीति तथा कार्यक्रममा आएकोमा खुशी व्यक्त गरे । उनले जिल्ला अस्पतालको स्तरोन्नतीको बिषयलाई नीति तथा कार्यक्रममा समावेश गरेर अघिल्लो बर्षको बजेटमै परेको ५ सय बेडको शिक्षण अस्पताल बनाउँने कुरा ओझेलमा पार्न खोजिएको आशंका व्यक्त गरे । उनले भने–‘जिल्ला अस्पतालको स्तरोन्नतीको विषय उठाएर प्रदेश स्तरीय शिक्षण अस्पताल बनाउँँने कुरालाई खुम्च्याउँन खोजेको जस्तो लागेको छ । शिक्षण अस्पताल बनाउँँने गत बर्षको कार्यक्रमलाई निरन्तरता दिन माग गर्दछु ।’

त्यस्तै सांसद कुसुम कुमारी श्रेष्ठले नीति तथा कार्यक्रममा शिक्षण अस्पतालको बिषयलाई बेग्लै बुँदामा समावेश गर्न माग गरेकी छन् । उनले धरान–मुलघाट सुरुङ मार्गको बिषय पनि ओझेल परेको भन्दै तराई केन्द्रित नीति तथा कार्यक्रम ल्याईएको आरोपसमेत लगाईन् । सांसद बिनादेवी राईले पूर्वको केन्द्रको रुपमा रहदै आएको धनकुटामा शिक्षण अस्पताल बनाउँन प्रदेश सरकारले चासो देखाएर नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिईन् ।

त्यस्तैगरी सांसद आरसी तुम्वाले पनि बजेटमा परिसकेको कुरालाई कार्यान्वयन नगरेर नीति तथा कार्यक्रममा छुटाईएको प्रति आश्चर्य व्यक्त गर्दै त्यसलाई समेटेर चाडो शिक्षण अस्पताल बनाईनुपर्ने धारणा राखे । यता, सांसद लिला सुब्बाले पहाडी जिल्लामा कोरोना संक्रमित बढीरहेकाले धनकुटामा पीसीआर परीक्षण ल्याबसहित कोरोना अस्पताल निर्माण गर्न माग गरेकी छन् ।

यो पनि हेर्नुहोस्…

धनकुटामा शिक्षण अस्पताल बनाउँँन प्रदेश सरकारद्वारा ४ करोड बजेट बिनियोजन

 

धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँन तीन ठाउँको जग्गा सिफारिस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!