संगालोखबर संवाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका कार्यालयमा कार्यरत एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । छथर जोरपाटीमा २४ जनाको परीक्षण गर्दा एक पुरुष कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै गाउँपालिकाकै अन्य दुई जनाको रिपोर्ट पनि शंकास्पद आएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुन्दरमान डंगोलले जानकारी दिए ।

Advertisement

आरडीटी रिपोर्ट पोजिटिभ आउँने ती कर्मचारीले कोरोना संक्रमण पुष्टि भएका धनकुटा अस्पतालका एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि हुनु भन्दा केही दिन अघि मोटरसाईकलमा राखेर सँगै यात्रा गरेको बताईएको छ । आरडीटी पोजिटिभ देखिएका ती व्यक्तिसँगै कार्यरत थप दुई जनामा पनि आरडीटी रिपोर्ट शंकास्पद देखिएको हो ।

स्वास्थ्यकर्मीहरुका अनुसार आरडीटी रिपोर्ट पोजिटिभ आउँदैमा कोरोना संक्रमण भएको यकिन हुँदैन । घाँटी र नाक भित्रको तरल पदार्थ (स्वाब) लाई ल्याबमा पीसीआर बिधिबाट परीक्षण गरेपछि मात्र कोरोना संक्रमण भए÷नभएको यकिन हुन्छ ।

पीसीआर परीक्षण गर्न स्वाब पठाईयो

आरडीटी रिपोर्ट पोजिटिभ आएका र शंकास्पद देखिएकासहित धनकुटाका २२ जनाको सोमबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

छथर जोरपाटीमा आरडीटी पोजिटिभ देखिएका १ जना, उनकी श्रीमती, शंकास्पद रिपोर्ट आएका २ जना र २ जना सवारी चालकको स्वाब संकलन गरिएको छ । त्यस्तै धनकुटाका ११ जना एम्बुलेन्स चालक र संक्रमितले उपचार गरेका बिरामीहरुको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

यसअघि एम्बुलेन्स चालकहरुले कोरोना परीक्षण नभएको र पीपीई लगायत स्तरीय स्वास्थ्य सुरक्षा सामाग्री नपाउँदा जोखिम मोलेर काममा खटिनुपरेको गुनासो गरेपछि सो बिषयमा संगालोखबरले समाचार प्रकाशन गरेको थियो । त्यसको दुई दिन भित्र एम्बुलेन्स चालकको पीसीआर परीक्षण गर्न स्वाब पठाईएको हो ।

यसअघि प्रकाशित समाचार…

धनकुटाका एम्बुलेन्स चालकको प्रश्न: रेनकोट जस्तो पीपीई लगाएर कत्तिन्जेल सेवा दिनु ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement