संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगरमा आफ्नै छोराहरुले बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा भएको छ । बिराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानलाई आफ्नै दुई जना छोराहरुले मिलेर हत्या गरी घरभित्रै शव गाडेको खुलासा भएको हो ।

Advertisement

शंकास्पद घटनाको जानकारी पाएपछि बुधबार साँझ चौहानको घरमा पुगेको प्रहरीले घरभित्रै शव गाडेको अवस्था फेला पारी शव उत्खनन् गरेर निकालेको थियो । त्यसपछि प्रहरीले गरेको अनुसन्धानले हत्यामा छोराहरुकै संलग्नता भएको पत्ता लागेको हो । बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङले अनलाइन मार्फत पत्रकार सम्मेलन गर्दै घटनामा छोराहरुकै संलग्नता पुष्टि भएको खुलासा गरेको हो ।

बाबुको हत्यामा संलग्न छोरा २९ बर्षीय रोहित चौहान र २६ बर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिए । ‘दुई वटै छोराहरुले सामान्य विवादका क्रममा आवेगमा आई कोदालोले हानेर आफ्नै बाबुको हत्या गरेको पत्ता लागेको छ ।’ उनले भने–‘अरुले थाहा पाउँछन भनेर बाबुको शवलाई घरभित्रै गाडेको अनुसन्धानका क्रममा खुलेको छ । हत्यामा संलग्न दुबै जनालाई मुद्दा दर्ता गरी कारबाही प्रकृया सुरु गरेका छौ ।’



यसरी पत्ता लाग्यो हत्याको रहस्य

प्रहरीका अनुसार सीताराम चौहानका तीन छोरा हुन् । कान्छा छोरा सम्पर्कमा छैनन् । जेठा र माइला छोरा मजदुरी गर्ने गर्छन् । विवाहित माइला छोरा छुट्टिएर बसेका छन् । जेठा छोरा रोहित बाबुसँग मुलघरमा बस्दै आएका थिए । शनिबार माईला छोरा नागेन्द्र र जेठा छोरा रोहितले काम गरेको ठाउँबाट पैसा पाएपछि दुबैजना मादक पदार्थ सेवन गरेर मुलघर पुगे ।

घर पुगेपछि सीतारामले छोराहरुसँग पैसा मागे । अनि विवाद सरु भयो । विवादका क्रममा सीतारामले जेठो छोरा रोहितलाई खाटबाट लडाइदिए । खाटबाट लडाएको रिसमा रोहितले बाबुको टाउकोमा कोदालो प्रहार गरे । रोहितपछि नागेन्द्रले पनि कोदालो प्रहार गरे । कोदालो प्रहारबाट सितारामको घटनास्थलमै मृत्यु भयो । राती करिव ८ बजे घटना भएको हो । बाबुको मृत्यु भएपछि अब के गर्ने भन्ने अन्यौल भएर जेठा छोरा घरको बरण्डामा सुते भने माइला छोरा आफ्नो डेरामा गए । आइतबार बिहान पुन दाजुभाई भेला भएर सल्लाह गरे । बाहिर लग्दा अरुले थाहा पाउँने डरले उनीहरुले घर भित्रै खाल्डो खनेर बाबुको शव गाडे । शव गाडेपछि दाजुभाइ फेरिसँगै बसेर मदिरा खाए । मदिराले लट्एिर कोठा पुगेका नागेन्द्रले श्रीमतीलाई आफूले बुबाको हत्या गरेर आएको बताए । पछि हैन भनेर ढाटे ।

यता, नियमित कोठामा आउँने ससुरा चार दिनसम्म पनि नआएपछि माइली बुहारी जैनव खातुनले ससुराको नम्बरमा फोन गरिन् । फोन अफ भनेपछि हेर्न मुल घर पुगिन् । त्यहा भुइँ खोस्रिएको र केही कपडामा रगत लतपतिएको देखिएपछि श्रीमान नागेन्द्रलाई लिएर उनी बुधबार ईलाका प्रहरी कार्यालय रानी पुगिन् ।

उनीहरुले बुवा हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालयमा आग्रह गरेका थिए । प्रहरीले सोधपुछ गर्ने क्रममा बुहारी जैनवले आफ्ना श्रीमानले बुबालाई मारिदिएँ भनेको, पछि हैन भनेको र घरमा खाटमुनि खाल्डो खनेको जस्तो देखेको प्रहरीलाई बताएकी थिइन् । त्यसपछि सीतारामको घर पुगेको प्रहरीले खाल्डो खोदलेर हेर्दा शव फेला पारेको हो । घटनाको अनुसन्धानका लागि प्रहरीले सीतारामका दुबै छोरालाई पक्राउ गर्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा दुबै जनाले पैसाको विषयमा विवाद हुँदा मदिराको नशामा आबेगमा आई बाबुको हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

 

यसअघि प्रकाशित समाचार…

बिराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!